५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

लम्पी स्किनबाट चितवनमा ३० वटा गाईगोरु मरे



फाईल फोटो
अ+ अ-

चितवन । पशु चौपायमा लाग्ने रोग लम्पी स्किनबाट जिल्लामा ३० वटा गाईगोरु मरेका छन् । पशु सेवा कार्यालय चितवनका अनुसार असार अन्तिम साताबाट देखिएको यस रोगका कारण हालसम्म ३० गाईगोरु मरेका हुन् ।

कार्यालयकी सूचना अधिकारी डा सविना मिश्रका अनुसार अहिलेसम्म जिल्लाका ७९३ वटा गाईगोरु, भैँसीमा यो रोगको सङ्क्रमण देखिएको छ । जसमध्ये भैँसी–राँगा चार र गाईगोरु ७९३ वटा रहेका छन् । लम्पी स्किनबाट हालसम्म खैरहनी नगरपालिका बढी प्रभावित भएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार सो पालिकामा हालसम्म ४२५ वटा पशु चौपाया प्रभावित भएका छन्भने २२ वटा मरेका छन् । रत्ननगरमा १९१ वटा पशु चौपाया प्रभावित भएका छन् । जहाँ ४ वटा गाई गोरु मरेका छन् । यस्तै राप्ती नगरपालिकामा ७५, भरतपुर महानगरपालिकामा ६२, माडी नगरपालिकामा २७ र कालिका नगरपालिकामा १३ वटा पशु चौपाया सङ्क्रमित भएका छन् । भरतपुर महानगरपालिकामा चारवटा पशु चौपाया मरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार रत्ननगरमा तीन र राप्तीमा एउटा भैँसी–राँगा प्रभावित भएका छन् ।

जिल्लामा लम्पी स्किन देखिन थालेपछि खोप लगाउने किसानको सङ्ख्या बढेको छ । हालसम्म ५९ हजार ९७४ वटा पशु चौपायालाई लम्पी स्किन विरुद्धको खोप दिई सकिएको उहाँले जानकारी दिनुभयो । गर्मीयाममा लामखुट्टे, झिँगालगायतका कारण यो रोगको प्रकोप देखिने गरेको मिश्रले बताउनुभयो । गाईभैँसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, ओँठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, र्‍याल काढ्ने, लिम्फनोडहरू सुक्नेजस्ता लक्षण देखापर्दछन् ।

सङ्क्रमित गाईवस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवं पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने गरेको कार्यालयले जनाएको छ । यो रोग लाग्न नदिनका लागि खोप लगाउने, विश्वसनीय स्रोतबाट गाईभैँसी खरिद गर्ने, गोठलाई झिँगा, लामखुट्टे तथा अन्य कीराबाट मुक्त राख्ने, सरसफाइमा ध्यान दिने र आवश्यकतानुसार कीट विकर्षकको प्रयोग गर्नुपर्ने मिश्रले बताउनुभयो ।