१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओमिक्रोन बढ्योः भारतमा कर्फ्यु, नेपालमा एक्सन प्लानको तयारी



अ+ अ-

काठमाडौँ । भारतमा केही हप्ता यतादेखि कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको बृद्धि जारी छ । भारतका स्वास्थ्य अधिकारीहरुले कोरोना भाइरसको संक्रमण तीव्ररुपमा बढिरहेको बताएका छन् । केही दिनयता भारतको राजधानी नयाँ दिल्ली र महाराष्टका कतिपय सहरमा संक्रमण दर ५०० प्रतिशतसम्म बढेको पाइएको छ । 

पछिल्लो समयमा ओमिक्रोन बढेपछि दिल्लीमा साप्ताहिक सार्वजनिक बिदाका दुई दिन कफ्र्यु नै जारी गरिएको छ । यहाँ सप्ताहन्तमा चहलपहल नियन्त्रण गर्ने उद्देश्यले कर्फ्यु जारी गरिएको बताइएको छ । नयाँ दिल्ली सरकारले नयाँ वर्षका कार्यक्रमहरुमा त कटौती गरेकै थियो तर पछिल्लो समयमा हप्तामा दुई दिनजति कफ्र्यु नै घोषणा गर्नेमा सरकार पुगेको छ । उता नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाललाई नै कोरोनाले छोएपछि घरैमा आइसोलेसनमा बसेका नयाँ दिल्लीका अधिकारीहरुले जनाएका छन् ।  

उता भारतमा ओमिक्रोनले सताएपछि यता नेपाल सरकारले पनि कोभिड–१९ को नयाँ भेरियन्ट फैलिन नदिन थप सतर्कताको तयारी गरेको बुझिएको छ । नेपाल सरकारले थप सतर्कता के कसरी अपनाउने भन्ने विषयमा परामर्श नै सुरु गरेको बुझिएको छ । 

यसअघि नै यही पुस ९ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ओमिक्रोन भेरियन्ट फैलन नदिन थप सतर्कता अपनाउन स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालय र सबै स्थानीय तहलाई निर्देशन दिएको हो । त्यसमा थप निगरानी सुरु गर्ने तयारी सरकारले थालेको छ । 

नेपालमा कोरोनाको दोस्रो लहर पनि भारतका कारणले नै आएको थियो । दोस्रो लहरमा भारतमा संक्रमण उच्च बिन्दूमा पुगेको करिब ५० दिनपछि नेपालमा संक्रमितको सङ्ख्या बढेको थियो । यसरी जब भारतमा कोरोना संक्रमण दर बढ्दै जान्छ, तब सीमा नाका हुँदै नेपाल प्रवेश गर्नेको सङ्ख्या पनि बढ्दै गएको अनुभव नेपालसँग छ । यतिखेर पनि समयमै सतर्कता नअपनाए खण्डमा नेपालमा पनि ढिलोचाँडो तेस्रो लहर आउने जनस्वास्थ्यविज्ञहरुले बताउन थालेका छन् । 

उनीहरुको सुझावका आधारमा नेपाल के कसरी अघि बढ्ने भन्ने बारेमा परामर्श थालिएको र यसका लागि पहिलो र दोस्रो लहरको अनुभवबाट थप एक्सन प्लान बनाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यो एक्सन प्लानमा लकडाउन नहुने र त्यसबाहेकका अरु काम कारबाही हुने पनि ती अधिकारीले जनाए ।