२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव अधिकार आयोगद्वारा कैलाली कारागार घटनाबारे अध्ययन



अ+ अ-

सुदूरपश्चिम। कैलालीको धनगढीस्थित कारागारमा कैदीबन्दीबीच भएको झडपको घटनाबारे राष्ट्रिय मानव अधिकारको टोलीले स्थलगत अध्ययन गरेको छ ।

राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख प्रकाशदत्त भट्ट नेतृत्वको तीन सदस्यीय टोलीले आज घटनाबारे अध्ययन गरेको हो ।

आयोग प्रदेश कार्यालयका प्रमुख भट्टले क्षमताभन्दा बढी कैदीबन्दी राखिएको, भौतिक स्रोतसाधानको अभाव रहेको र कैदीबन्दी स्थानान्तरण गर्दा परिवारका सदस्यसँग आवश्यक समन्वय नहुने गरेको पाइएको बताउनुभयो ।

उहाँले भन्नुभयो “हामी अध्ययनकै क्रममा छौंँ, घटनाको कारणबारे अध्ययनपछि आयोगको केन्द्रीय कार्यालयमा प्रतिवेदन बुझाउने छौँ र त्यसपछि यसबारे विस्तृत जानकारी गराइने छ ।”

आयोगले गएराति कैदीबन्दीबीचको झडपपछि उत्पन्न परिस्थितिलाई थप बिग्रन नदिन स्थानीय प्रशासनले थप चुस्त व्यवस्थापन गरिनुपर्ने विषयमा पनि ध्यानाकर्षण गराएको भट्टले बताउनुभयो ।

यसैबीच जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले कारागारको परिस्थिति नियन्त्रणमा रहेको र त्यसका लागि सबै व्यवस्थापन गरिएको बताउनुभएको छ । “उत्पन्न परिस्थितिलाई सामान्य बनाइराख्न कारागार परिसरमा पर्याप्त सुरक्षाकर्मी परिचालन गरेका छौंँ । सुरक्षा व्यवस्था चुस्त बनाउन सम्पूर्ण रूपमा रणनीति अपनाइएको छ । अब थप अप्रिय घटना हुन नदिन हामी सचेत छौँ”, उहाँले भन्नुभयो ।

छानबिन समिति गठन

यस्तै घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन गरिएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको अध्यक्षतामा आज बसेको सुरक्षा समिति बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो । समितिलाई दश दिनभित्र प्रतिवेदन दिनगरी जिम्मेवारी दिइएको छ ।

समितिको सदस्यमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार सिंह, सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक जनकराज पन्त, राष्ट्रिय अनुसन्धान कार्यालयका अधिकृत दीपेन्द्र सिंह र प्रशासकीय अधिकृत शिवराज जोशीलाई तोकिएको छ ।

कारागारभित्र ब्लक ‘ए’ र ब्लक ‘बी’ मा बस्ने कैदीबन्दीबीच शुक्रबार राति झडप भएको थियो । त्यसक्रममा घाइते भएका धनगढी उपमहानगरपालिका-४ का भरत चौधरीको उपचारका क्रममा आज मृत्यु भएको हो । चौधरी लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहनुभएको थियो । झडपमा ४७ जना घाइते भएका थिए ।

यसअघि बिहीबार राति झडप भएको थियो । त्यसदिन प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकले कारागार पुगेर सम्झाइबुझाई गरेपछि अवस्था सामान्य बनेको थियो, तर सोही राति फेरि आपसमा ढुङ्गामुढा हानाहान भएको कारागारका निमित्त जेलर रामप्रसाद चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो,“बिहीबार फेरि झडप हुँदा छ जना घाइते भएकोमा एक जनाको उपचार अझैँ चलिरहेको छ । अरु सबै उपचारपछि कारागार फर्किएका छन् ।”

त्यसअघि गएको असार २८ गते पनि कारागारमा कैदीबन्दीबीच कुटाकुट भएको थियो । यहाँ कारागारमा एक सय ५० जना अटाउने क्षमता भए पनि करिब छ सय ८० जना कैदीबन्दी छन् ।

नेतृत्व छनोटमा विवाद हुँदा झडपः प्रशासन

जिल्ला प्रशासन कार्यालयले कैदीको नाइके छनोटका विषयमा कुरा नमिल्दा झडप भएको प्रारम्भिक अनुमान गरेको छ । आज पत्रकार सम्मेलन गर्दै प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हमालले नेतृत्व छनोटमा विवाद हुँदा दुई समूहबीच हातपात तथा झडप भएको जानकारी आए पनि थप विवरण अध्ययनपछि थाहा हुने बताउनुभयो । उहाँले मृतक चौधरीका आफन्तसँग संवाद भइरहेको र घटनाका दोषीलाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

घाइतेमध्ये गोदावरी नगरपालिकाका आयुस भट्टलाई थप उपचारका लागि काठमाडौँ पठाइएको जानकारी दिँदै प्रजिअ हमालले भन्नुभयो,“भट्टको स्वास्थ्यमा जटिलता देखिएपछि हेलिकोप्टरमार्फत् काठमाडौँ लगिएको छ, घटनामा घाइते भएका अन्यको अवस्था सामान्य छ ।”

घटनालाई केन्द्र र प्रदेश सरकारले पनि गम्भीर रूपमा लिएका छन् । आजै गृहमन्त्री रमेश लेखकले गृहसचिव, तीन वटै सुरक्षा निकायका प्रमुखसहित सम्बद्ध अधिकारीबाट घटनाको समग्र अवस्थाबारे जानकारी लिँदै आवश्यक काम गर्न निर्देशन दिनुभएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आजै गृहमन्त्री रमेश लेखकसँग भेट गरी घटनाबारे छलफल गर्नुभएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । रासस