रौतहट। जिल्लाको चन्द्रपुर नगरपालिका–२ जुडिबेलामा असारको महिनामा पनि खानेपानीको हाहाकार भएको छ । खानेपानीका लागि घरमा गाडेका चापाकल सुकेपछि विगत दुई महिनादेखि सो क्षेत्रका पाँच वटा टोलका नागरिकलाई पिउने पानीको हाहाकार भएको हो ।
विगत २० दिनयता चन्द्रपुर नगरपालिकाको बारुणयन्त्रले सो क्षेत्रका नागरिकलाई दैनिक रूपमा पानी ओसारेर उपलब्ध गराइरहेको छ । जुडिबेलाको चौधरी, जोगी, नर्सरी, रैयालगायत टोलका करिब दुई सयभन्दा बढी परिवारलाई नगरपालिकाले बारुणयन्त्रमार्फत खानेपानी वितरण गरिरहेको नगरप्रमुख सञ्जयकुमार काफ्लेले जानकारी दिनुभयो ।
पिउने पानी नागरिकको नैसर्गिक अधिकार भएकाले स्थानीयलाई दैनिक रूपमा दमकलबाट टोलटोलमा राखिएका ड्रममार्फत पानी वितरण गरिरहेको उहाँले बताउनुभयो ।
ती टोलका करिब दुई सय परिवारलाई बारुणयन्त्रले दैनिक १२–१३ हजार लिटर पानी ओसारेर वितरण गर्दै आइरहेको नगरप्रमुख काफ्लेले उल्लेख गर्नुभयो । खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि नगरपालिकाले केही दिनभित्र चापाकल सुकेका टोलमा नयाँ धारा जडान गर्ने उहाँले जानकारी दिनुभयो ।
जुडिबेलामा अलपत्र खानेपानी आयोजनाको कामलाई शीघ्र अगाडि बढाइने नगरप्रमुख काफ्लेको भनाइ छ । सो क्षेत्रका करिब दुई हजार ५०० परिवारलाई शुद्ध पिउने पानी खुवाउनले लक्ष्यको साथ जुडिबेला खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले निर्माण गरेको खानेपानी आयोजना विगत १० वर्षदेखि अलपत्र छ ।
खानेपानीको दीर्घकालीन समाधानको लागि वडास्तरबाट पनि काम भइरहेको चन्द्रपुर–२ का वडाध्यक्ष दुत्तबहादुर थिङले जानकारी दिनुभयो । वडाको जुडिबेला टोलमा ५१ घर, जोगी टोलमा ३५, नर्सरी टोलमा ७० र रैयाटोलमा ३१ घरका नागरिक खानेपानीबाट प्रभावित भएका छन् ।
ती टोलमा अक्फाम नेपालको आर्थिक सहयोगमा नौ वटा एक÷एक हजार लिटरको ड्रमसहित विभिन्न सामग्री किनेर नगरपालिकाले खानेपानी वितरण गर्दै आएको आरडिसी नेपालकी स्थलगत अधिकृत ज्योति फुँयालले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले जोगीटोलमा ४० वर्ष पुरानो धारा मर्मत गरेर पानी उपलब्ध गराइएको छ ।
जुडिबेला खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष भोला थपलियाले पानी वितरणका लागि पाइपको व्यवस्था गर्न सके यो समस्या समाधान हुने बताउनुभयो । आयोजनाको पानी वितरणका लागि पाइप नभएकाले वितरण गर्न नसकेको भन्दै उहाँले करिब दुई हजार ५०० उपभोक्तामध्ये ९२ घरले आयोजनाको पानी खाइरहेका उहाँले जानकारी दिनुभयो ।
पाइपको लागि पटक–पटक सम्बन्धित निकायमा आग्रह गर्दासमेत सुनवाइ नभएपछि पानी वितरण गर्न नसकिएको अध्यक्ष थपलियाको भनाइ छ । उहाँका अनुसार आयोजनामा चार लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्याङ्की निर्माण सम्पन्न भइसकेको छ ।
आयोजनाअन्तर्गत ‘डिपबोरिङ’ जडान, कार्यालय भवन निर्माण, विद्युतीकरण, पम्प हाउस निर्माण तथा करिब २७ किलोमिटर मुख्य लाइनको पाइप गाडिसकिएको अध्यक्ष थपलियाले जानकारी दिनुभयो । बजेट अभावका कारण मुख्य लाइनको पाइप खरिद गर्न नसक्दा काम ठप्प भएको उहाँले बताउनुभयो । यो आयोजना सम्पन्न गर्नका लागि अनुमानित रु दुई करोड बजेट आवश्यक पर्ने उहाँले जानकारी दिनुभयो ।
आयोजना सञ्चालन हुनेवित्तिकै जुडिबेलामा खानेपानीको समस्या समाधान हुने स्थानीय राजन थापाले बताउनुभयो । आयोजनाको कामलाई शीघ्र सम्पन्न गरी पानीको सहज आपूर्ति मिलाउन उहाँले सरोकार भएका सबैलाई आग्रह गर्नुभयो । रासस









