१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकार्पणपछि ‘विजयिनी’माथि विमर्श



अ+ अ-

काठमाडौँ। लेखिका दिपा दाहालद्वारा लिखित कथासङ्ग्रह ‘विजयिनी’को आज लोकापर्णपछि लेखक तथा स्रस्टाहरूबीच विमर्श गरिएको छ ।

कवि तथा लेखक कुन्ता शर्मा, उपप्राध्यापक डा अस्मिता विष्ट र लेखक दिपा दाहालले संयुक्त रूपमा कृतिको लोकार्पण गर्नुभएको प्रकाशक साङ्ग्रिला बुक्सले जानकारी गराएको छ । प्रकाशन गरेको यो कथा सङ्ग्रह लेखक दाहालको पहिलो कृति हो ।

कवि तथा लेखक कुन्ता शर्माले ‘विजयिनी’विचार र शिल्प दुवै कोणबाट उत्कृष्ट कथाको सङ्गालो भएको बताउनुभयो । उहाँले दाहालका कथामा समाजको दुरुस्त चित्रण भएको बताउँदै लेखकले पहिलो कृतिमै गम्भीर लेखनको अभाष दिनु उल्लेख्य रहेको बताउनुभयो । शर्माले ‘विजयिनी’का कथामा बिपीका कथामा जस्तै समाजको सुक्ष्म र रोचक चित्रण गरिएको उल्लेख गर्नुभयो ।

उपप्राध्यापक डा विष्टले दाहालका कथाका पात्रहरूले विभेद् र हिंसाको यथास्थिति अस्विकार गर्ने विद्रोही भएका जनाउँदै लेखकले पुरुष मनोविज्ञान र आदिवासी संस्कृतिसमेत रोचक तरिकाले प्रस्तुत गर्नुभएको बताउनुभयो । उहाँले यो पुस्तक विशेषतः युवा पाठकले नेपाली समाजमा महिलाको अवस्था बुझ्न पढ्नैपर्ने कृति भएको उल्लेख गर्नुभयो ।

आफ्नी हजुरआमाले सुनाएका कथाले आफूमा लेखकीय भाव जागृत भएको जनाउँदै लेखक दाहालले आफूले कथामार्फत् समाजको यथार्थतालाई विद्रोहको स्वर दिएको बताउनुभयो । रासस