६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

कोरोनाको बन्दाबन्दीमा चित्रकार बनेकी कृपा

कोरोनाको बन्दाबन्दीमा चित्रकार बनेकी कृपा
अ+ अ-

पोखरा। कोरोना महामारीले विश्व आक्रान्त थियो । बन्दाबन्दी (लकडाउन)का कारण विश्वको अर्थतन्त्र सुस्ताउँदो थियो भने अवसरहरु खुम्चिँदै थिए ।

विदेशी पर्यटकले सधै गुल्जार हुने पर्यटकीय नगरी पोखरा सुनसान बनेको थियो । लम्बिँदै गएको लकडाउनका कारण मानिसहरुमा निराशा बढ्दो थियो ।

त्यही समयमा पोखरा-१३, कुँडहरकी कृपा श्रेष्ठको जीवन नयाँ अध्यायमा प्रवेश गर्‍यो । लकडाउनले बनाएको फुसर्दिलो दैनिकीमा उहाँ रहरले क्यानमासमा खेल्न थाल्नुभयो । मनमा दबिएका भावनालाई ब्रसमार्फत क्यानभासमा पोख्ने रहर यतिबेला उहाँको पहिचान बनेको छ ।

वर्षौदेखि मनको कुनामा थन्किएका उहाँका सिर्जना जब सबैको आँखामा देखिन थाले, उहाँको जीवनले सफलताको नयाँ रङ देख्न थाल्यो । “लामो समयसम्म सेतो कागजमा रङ्गविहीन सपना कोरेरै चित्त बुझाएकी थिएँ”, श्रेष्ठले भन्नुभयो, “कोभिडले मलाई आफैँभित्रको कलाकारसँग भेट गराइदियो, यो आफूलाई चिन्ने एउटा सुनौलो अवसर थियो ।”

डेनमार्कमा लिडरसीप विषयमा स्नातक सकेर सात वर्ष पश्चात सन् २०१७ मा नेपाल फर्किएपछिको उहाँको दैनिकी सामान्य अवस्थामै चलिरहेको थियो । पारिवारिक जिम्मेवारी पूरा गर्दै दिन बितिरहेका थिए । सन् २०२० मा जब कोभिड महामारीले सबैलाई घरभित्रै सीमित बनायो, उहाँ पनि अरु जस्तै लकडाउनको बन्दी हुनुभयो ।

एक दिन बच्चालाई पढाउने बहानामासँगै टेबलमा बस्नुभयो । त्यो अप्रिलको महिना थियो, उहाँलाई अझै याद छ । त्यही समयमा उहाँले एउटा कागजमा मण्डला कोर्नुभयो ।

रहरमा कोरिएको चित्र यति सुन्दर बन्यो कि उहाँ आफैँ अचम्ममा पर्नुभयो । “आहा ! मैले यति राम्रो मण्डला बनाएँ भन्नुभयो”, उहाँले कोरोनाकाल सम्झनुभयो । त्यही दिनदेखि उहाँको जीवनमा नयाँ अध्याय सुरु भएको हो भन्नुहुन्छ उहाँ । त्यसअघिका दिनमा अरुका कला हेरेर दङ्ग पर्ने उहाँ आफूभित्र नै कला कोर्ने अद्भूत क्षमता छ भन्ने कहिल्यै लागेन । यसपछिका दिनमा उहाँले आफूलाई एक कलाकारको रूपमा नयाँ परिचय दिनुभएको छ ।

दिउँसो घरको जिम्मेवारी र रातको सुनसान समय उहाँको क्यानभास बन्यो । सुरुमा कालो–सेतो (मोनोक्रोम) चित्र बनाउँदै गर्दा रङसँग खेल्दै क्यानभासमा हराउने उहाँको बानी भयो । उहाँलाई आकाशको नीलो र धर्तीको हरियो रङ्गसँगको सामिप्यता निकै मनपर्छ ।

“मेरा सिर्जनाहरू केवल चित्र मात्र होइनन्, भावना र विचारका अभिव्यक्ति हुन्, स्वतन्त्रता, महिला सशक्तीकरण, विद्रोह, शान्ति, प्रकृति र संस्कृति जस्ता विषय मैले बनाएका कलामा भेटिन्छन्”, उहाँले भन्नुभयो ।

आफूले कोरेका चित्रमा बारम्बार प्रयोग हुने गोलाकार आकृतिहरू यही ब्रह्माण्डीय सम्बन्धको प्रतीक रुपमा लिन सकिने उहाँको भनाइ छ । उहाँ कहिलेकाही दिन रात नभनी कलामा डुबेर काम गर्नुहुन्छ । कुनै चित्र दुई÷चार दिनमै तयार भएका छन् भने कुनै चित्र महिनौँ समय खर्चिर पनि बनेका छन् ।

कृपाले आजसम्म औपचारिक एकल कला प्रदर्शनी गर्नुभएको छैन । यद्यपि विभिन्न आर्ट प्रर्दशनीमा उहाँको कलाले कलापारखीहरूको मन जित्न सफल भएको छ । उहाँको पहिलो चित्र, ‘सेभेन चक्र अफ लाइफ’ थिममा बनेको बुद्धको डट मण्डला, सात हजार रुपैयाँमा बिक्री भयो । त्यसपछि उहाँको कलाको माग बढ्दै गयो र व्यावसायिक यात्राको बाटो खुल्यो ।

अक्रेलिक रङमा रमाउने उहाँले अहिलेसम्म दुई सयभन्दा बढी चित्र सिर्जना गरिसक्नुभएको छ भने उहाँले ५० भन्दा बढी चित्र बिक्री गरिसक्नुभएको छ । उहाँका चित्रकला रु ७० हजारसम्ममा बिक्री भएका छन् ।

उहाँलाई १७ वर्षीय छोरीले कलायात्रालाई लाग्न प्रेरित गरिरहेको उहाँको भनाइ छ । त्यसबाहेक आभ्या क्लब र यसका प्रबन्ध निर्देशक निरोज लामाको भूमिकालाई उहाँ विशेष सम्झनुहुन्छ । आभ्या क्लबमा कार्यक्रम संयोजकको रूपमा काम गरिरहँदा एउटा कला सिर्जनाका लागि खुला वातावरण मैत्रीपूर्ण साथ र हौसलाले उहाँलाई आफ्नो जिम्मेवारीको अलावा कार्यक्षेत्रमै कला कोर्न वातावरण बनाइदिएको छ ।

सन् २०२३ मा आभ्याले एउटा आर्टवर्क सप ग¥यो जसले उहाँलाई थप हौसला मिल्यो । अहिले क्लबका भित्तामा सजिएका उहाँका चित्रले आगन्तुकहरूको ध्यान खिच्छ र बिक्रीमा सहजता मिलेको छ ।

कृपा आफूलाई एक सिकारु कलाकार नै मान्नुहुन्छ । उहाँ भन्नुहुन्छ “कलाको यात्रा कहिल्यै सकिँदैन, म अझै सिक्दैछु ।” हाल उहाँ समसामयिक विषयवस्तु र सांस्कृतिक मौलिकतालाई आफ्नो कलामा उतार्न अध्ययन अनुसन्धान गरिरहनुभएको छ ।

कृपा पोखराका कलाकारहरू बात्सायन, यादवचन्द्र भूर्तेल र हरेराम जोजिजुबाट प्रेरित हुनुहुन्छ । साथै, एरिका ताम्राकारको कला उहाँलाई मनपर्छ । श्रेष्ठ अहिले पोखराको एक वेलनेस स्टुडियोका लागि विशाल क्यानभासमा काम गरिरहनुभएको छ । जसमा उहाँले गुरुङ संस्कृतिको पहिरनमा सजिएकी एक आधुनिक युवतीको चित्रमार्फत संस्कृति र आधुनिकताको सुन्दर संयोजन प्रस्तुत गर्दै हुनुहुन्छ ।

उहाँको धैर्य, दर्शन र समर्पणले उहाँलाई एक कलाकार मात्र होइन, अरूका लागि प्रेरणाको स्रोतसमेत बनाएको छ । उहाँ भन्नुहुन्छ, “मलाई लाग्छ, म सही समयमा, सही काम, सही तरिकाले गरिरहेको छु ।”

कलामा आफू अझै पनि अनुसन्धान र सिकाइकै चरणमै रहेको बताउनुहुने श्रेष्ठले समसामयिक विषयलाई आफ्नो कलामा उतार्न थप मेहनत गरिहनुभएको छ । “हतार गरेर हिँड्दा धेरै कुरा पछाडि छुट्छन्, म अहिलेस्थिर भएर आफ्नो समय आफू र आफ्नो पेन्टिङमा दिइरहेको छु, म अझै सिक्दै छु”, उहाँले भन्नुभयो । रासस