कैलाली। कैलाली कारागारमा बिहीबार कैदीबन्दीबीच झडप हुँदा पाँच जना घाइते भएका छन्। झडपको कारण एक समूहको सरूवाका क्रममा उत्पन्न विवाद रहेको बताइएको छ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार घाइते पाँचै जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। तर उनीहरूको विस्तृत विवरण भने अझै आउन बाँकी रहेको उनले जानकारी दिए।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालका अनुसार झडप भूपेन्द्र बडुवाल हत्या प्रकरणमा संलग्न रहेको आरोपमा रहेका तीन जना कैदीबन्दीको सरूवाका क्रममा भएको हो। उनीहरूलाई अन्य कारागारमा स्थानान्तरण गर्ने प्रक्रिया चलिरहेका बेला विवाद उत्पन्न भई झडप भएको हमालले बताए।
प्रहरी र कारागार प्रशासनले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।










