६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

गाईपालनबाट मासिक तीन लाख ५० हजार आम्दानी

गाईपालनबाट मासिक तीन लाख ५० हजार आम्दानी
अ+ अ-

फिक्कल । गाउँघरमा गाईपालनलाई अझैपनि परम्परागत र सामान्य आम्दानीको स्रोत मान्ने गरिन्छ । इलामको सूर्योदय नगरपालिका-३ रुङसुङका गोपाल आचार्यले यो सोच परिवर्तन गर्दै गाईपालनबाट मासिक तीन लाख ५० हजार आम्दानी गर्दै आउनुभएको छ । उहाँले गाईपालनलाई आधुनिक, व्यवस्थित र व्यावसायिक रूपमा अगाडि बढाउँदै आउनुभएको हो ।

आचार्यले ‘पञ्चामृत गाईफार्म’ सञ्चालन गरी दूध बिक्रीबाट मात्र मासिक रु दुई लाख ८८ हजारदेखि रु तीन लाख ६० हजारसम्म आम्दानी गर्दै आएको जानकारी दिनुभयो । फार्मबाट दैनिक १६० देखि २०० लिटरसम्म दूध उत्पादन हुने जनाउँदै उहाँले नजिकै पञ्चामृत डेरी उद्योगमा प्रतिलिटर रु ६० का दरले बिक्री गरिरहेको बताउनुभयो ।

विसं २०७० मा राष्ट्रिय वाणिज्य बैंकबाट रु १० लाख ऋण लिएर गाईपालन व्यवसाय सुरु गर्नुभएका आचार्यका फार्ममा अहिले ३४ वटा माउगाई छन् । “तीमध्ये १२ वटा दूहुना र बाँकी ब्याउने अवस्थामा छन् । फार्ममा बाच्छाबाच्छीका लागि छुट्टै गोठ निर्माण गरिएको छ । व्यवसाय थाल्दा कुनै अनुभव थिएन, गाई दूहेर दूध बेच्ने मात्रै सोचेको थिएँ”, उहाँले भन्नुभयो, “विस्तारै यसको सम्भावना ठूलो रहेछ । अनुभवले सिकाउँदै लगेको छ ।”

आचार्यले गाईपालनबाट भएको आम्दानी सोही व्यवसायमा पुनःलगानी गर्दै आउनुभएको छ । हालसम्म करिब रु ३० लाख निजी लगानी भएको फार्मको मूल्य अहिले रु एक करोड हाराहारीमा पुगेको उहाँले जानकारी दिनुभयो । दूध ढुवानीका लागि आचार्यले फार्मको आम्दानीबाट पिकअप गाडी खरिद गर्नुभएको छ । सो गाडीमार्फत बिहान दूध बिक्री गर्न डेरीसम्म लैजाने र दिउँसो गाईका लागि दानापानी ओसारपसार गर्दै आएको उहाँले बताउनुभयो ।

पारिवारिक सहयोगसँगै फार्ममा तीन जनाले रोजगारी पाएका आचार्यले जानकारी दिनुभयो । दुई जनाले फार्मका लागि एक जना गाडी चलाउन कर्मचारी राखेको उहाँले बताउनुभयो । “आफूमात्र खटेर भ्याइँदैन, गाईफार्ममा दुई जना कामदार र पिकअपमा एकजना ड्राइभर राखेको छु”, उहाँले भन्नुभयो, “उनीहरूको तलबमा मात्र मासिक रु ४२ हजार खर्च हुन्छ ।”

उहाँले गाईपालनसँगै २०० रोपनी क्षेत्रमा घाँसखेती पनि विस्तार गर्नुभएको छ । गाईलाई आवश्यक पर्ने घाँस जोहो गर्न उहाँले आफ्नै ७० रोपनी र १३० रोपनी जमिन भाडामा लिएर घाँसखेती लगाउनुभएको हो । बीस रोपनी क्षेत्रमा सुपरनेपियर, ४० रोपनी क्षेत्रमा अम्रिसो र बाँकीमा डाले तथा स्थानीय प्रजातिका भुँइघाँस रोप्नुभएको छ ।

उहाँले गाईको गोबरबाट तयार पारिएको मल बिक्रीबाट वार्षिक रु एक लाख अतिरिक्त आम्दानी गर्दै आएको जानकारी दिनुभयो । आचार्यले उत्पादित मल स्थानीय चिया सहकारी संस्था तथा चिया किसानले खरिद गरेर लैजाने गरेका बताउनुभयो ।

आचार्यलाई फार्म सञ्चालनका लागि आंशिक सरकारी सहयोग पनि प्राप्त भएको छ । कोशी प्रदेश सरकारले दुई वर्षअघि दूध दूहुने उपकरण खरिदका लागि रु दुई लाख ५० हजार अनुदान दिएको छ भने भकारो सुधारका लागि सूर्योदय नगरपालिकाबाट रु २० हजार पाउनुभएको छ ।

गाईपालन व्यवसायबाट सफलता प्राप्त गर्नुभएका आर्चायले लम्पीस्कीन रोगका कारण १४ वटा माउगाई गुमाउनुपरेको उल्लेख गर्नुभयो । बिमाबाट रु ४० हजार क्षतिपूर्ति पाएको भन्दै उहाँले अन्य सरकारी सहयोग नपाएको गुनासो गर्नुभयो । “बिमाबापत रु ४० हजार मात्रै पाएँ, अन्य कुनै राहत कतैबाट पाइएन”, उहाँले भन्नुभयो, “तर पनि मैले हिम्मत हारेको छैन, अझ व्यवसाय विस्तार गर्ने योजनामा छु ।”

पैसा कमाउन विदेश गइरहन नपर्ने भन्दै आचार्यले स्वदेशमा नै सीप विकास गरी स्वरोजगारमूलक काम गर्न सकिने धारणा राख्नुभयो । “बेरोजगार युवा विदेशिने क्रम रोक्न र गाउँघरमा बसेर स्वरोजगार बन्न सकिन्छ भन्ने सन्देश दिन गाउँमै व्यावसायिक गाईपालन सुरु गरेको हुँ”, उहाँले भन्नुभयो, “बैंकको कर्जा विस्तारै तिरिसक्न लागेँ, अर्कोवर्ष कर्जा चुक्ता गरेपछि अझ गाई थप्ने योजनामा छु ।”रासस