९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनता समाजवादीका नेताहरू देउवा निवासमा, संविधान संशाेधनबारे छलफल



अ+ अ-

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा सार्वजनिक गरेपछि संवैधानिक प्रावधान बमाेजिम संविधानमा व्यवस्थित नेपालकाे निशान छाप पनि संशाेधन गर्नु पर्दछ । यही सिलसिलामा सरकाले संविधान संशोधन गर्न संसदमा शुक्रबार विधेयक दर्ता गरिसकेकाे छ ।

तर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाइ शनिबार उहाँकै निवासमा पुगेर प्रस्तावित विधेयकमा बिनाशर्त साथ नदिन जनता समाजवादी पार्टी जसपाले आग्रह गरेको छ।

देउवाकाे बूढानीलकण्ठस्थित निवास पुगेका नेताहरूमा पूर्वराजपाका अध्यक्ष मण्डलका शरतसिंह भण्डारी, राजेन्द्र महतो र महिन्द्र राय यादव र समाजवादी पार्टीका तर्फबाट बाबुराम भट्टराई, उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठ सहभागी थिए ।

त्यस भेटमा देउवाका तर्फबाट के आश्वासन दिइयाे भन्ने स्पष्ट छैन, तर संविधान संशाेधनकाे मुद्दा मधेसवादी दलकाे पुरानाे माग हाे । यस मागका बारेमा छलफल गर्न सत्तारूढ दल, खासगरी प्रधानमन्त्रीले खासै रूचि देखाउनु भएकाे छैन । उहाँले पटकपटक संविधान संशाेधन के का लागि ? भन्दै प्रश्न गरिरहनु भएकाे छ ।

यता अपेक्षाकृत मधेशवादी दलप्रति केही नरम देखिएकाे नेपाली काँग्रेसले संविधान संशाेधन मार्फत मधेशका केही गुनासा भए संवाेधन गर्न तयार रहनु पर्ने धारणा राख्दै आएकाे छ ।

संविधान संशाेधनका लागि संसदमा दुइ तिहाइ मत चाहिन्छ । काँग्रेसले निशान छापकाे विषय राष्ट्रिय मुद्दा भएकाले अस्वीकार गर्ने वा विपक्षमा मतदान गरेर अलाेकप्रिय हुने सम्भावना कमै छ । तथापी काँग्रेसले संविधान संशाेधन समेतका विषयमा छलफल गर्न आइतबार केन्द्रीय समितिकाे बैठक बाेलाएकाे छ ।