काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । यसअघि २५ प्रतिशत शुल्क लगाउने निर्णय भएको थियो । अब भारतीय सामान अमेरिकी बजारमा प्रवेश गर्दा ५० प्रतिशत कर तिर्नुपर्छ ।
राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेको कार्यकारी आदेशअनुसार यो कर आदेश जारी भएको मितिले २१ दिनपछि लागू हुनेछ ।
बुधबार जारी गरिएको ह्वाइट हाउसको आदेशमा भारत सरकारले हाल प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रुसबाट तेल आयात गरिरहेको छ । यही आधारमा अमेरिकाले भारतबाट आउने सबै वस्तुमा थप २५ प्रतिशत शुल्क लगाउने निर्णय गरेको हो ।
रुस युक्रेन युद्ध सुरु भएपछि भारतले रुसबाट आयात गर्ने कच्चा तेलको परिमाण निकै बढेको थियो । सन् २०१८ सम्म रुसबाट भारत आयात हुने कच्चा तेलको हिस्सा १.८ प्रतिशत मात्र थियो तर सन् २०२५ मा यो परिमाण ३५ प्रतिशत पुगेको थियो ।
थप ट्यारिफ लगाउने अमेरिकाको यो निर्णयले अमेरिकी बजारमा भारतीय सामान धेरै महँगो हुनसक्ने विशेषज्ञ बताउँछन् । उनीहरुका अनुसार भारतको अमेरिका तर्फको निर्यातमा ४० देखि ५० प्रतिशतसम्म गिरावट पनि आउन सक्छ ।
यसैबीच अमेरिकाको निर्णयपछि भारतको विदेश मन्त्रालयले प्रतिक्रिया दिँदै ‘अनुचित, अकारण र तर्कहीन’ भनेर टिप्पणी गरेको छ ।
भारतले १ अर्ब ४० करोड जनताको ऊर्जा सुरक्षा सुनिश्चित गर्न रुसबाट तेल आयात गर्नुपरेको प्रष्ट पारेको छ ।
अमेरिकाले भारतमाथि थप ट्यारिफ लगाउने निर्णयलाई दुर्भाग्यपूर्ण भन्दै थपेको छ, ‘रुसी तेल आयात गरेको भनेर अमेरिकाले थप २५ प्रतिशत ट्यारिफ लगाउने निर्णय गरेको छ । जबकि त्यस्तै काम अरू धेरै देशहरूले पनि आफ्ना राष्ट्रिय हितमा गरिरहेका छन् । हामी फेरि दोहोर्याउँछौं कि अमेरिकाको यो कदम अनुचित, अकारण र तर्कहीन छ । भारतले आफ्नो राष्ट्रिय हितको रक्षा गर्न सबै आवश्यक कदम चाल्नेछ ।’










