काठमाडौं । २०७९ सालको निर्वाचनमा अप्रत्यासित नतिजा हात पारेको नागरिक उन्मुक्ति पार्टीमा अहिले विवाद उत्कर्षमा पुगेको छ । कुनै पनि बेला दल विभाजन हुने जोखिममा छ ।
नाउपाले अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई हटाएर लालवीर चौधरीलाई अध्यक्ष बनाएको छ । तर, रञ्जिताले पार्टीको आधिकारिक अध्यक्ष आफू नै रहेको दाबी गरेकी छन् ।
रञ्जिता र उनका श्रीमान् तथा पार्टी संरक्षक रेशम चौधरीबीच द्वन्द्व बढ्दा पार्टी फुटको स्थितिमा आइपुगेको हो ।
यसैबीच रञ्जिताले ‘नजिर’ शीर्षकमा एउटा कविता लेखेर फेसबूकमा पोस्ट गरेकी छन् । उनले यो कवितामा अहंकारले बनाएको दरबार चुडिँने तर्क गरेकी छन् ।
आफ्ना श्रीमान रेशम लक्षित यो कवितामा कस्तो त छ ?
‘’नजिर”
गलत नजिर बसायो जसले,
सत्यलाई कुहिरोमा लुकायो जसले —
एक दिन त्यो नाटकको पर्दा च्यातिन्छ,
र संचित पापको भारीले नै आफैँ झुकेको पाइन्छ ।
खन्दै थियो जो अरूका लागि खाल्डो,
उसैको पाइला डगमगाउँछ त्यहीँ
यो नियतिले कहिल्यै साथ दिँदैन,
अहंकारले बनाएको दरबार चुँडिन्छ, टिक्दैन ।
हामी त उभिएका छौँ विवेकको छायाँमा,
न आँधीले हल्लाउने, न लोभको मायामा ।
सत्ता त सधैं रहँदैन एउटै हातमा,
समय आफैँले लेख्छ फैसला, न्यायको रातमा ।
‘बिचरा’ भन्नुको पनि अर्थ गहिरो छ यहाँ,
त्यो शक्ति होइन, अन्तर्मनको गहिराइमा पया ।
जो पीडा बुझ्दैन, उ ठूला आसनमा भए पनि सानो छ,
तर जसले सहन गर्छ, ऊ नै असल इतिहासको गाथा बनाउने मानो हो ।










