मकवानपुर । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन् ।
मंगलबार बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बानियाँलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
सोमबार नेपाली कांग्रेसको ३७ र नेकपा एमालेको २७ सांसदको समर्थन सहित बानियाँले मुख्यमन्त्रीको लागि दाबी पेस गरेका थिए । संविधानको धारा १६८(२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने प्रदेशसभा सदस्यले सरकार गठन गर्नसक्ने प्रावधानअनुसार बानियाँले एमालेसहित ६४ सांसदको समर्थनमा मुख्यमन्त्री पदको दाबी गरेका थिए ।
नवनियुक्त मुख्यमन्त्री बानियाँले आजै अपराह्न ४ बजे शपथ ग्रहण लिने कार्यक्रम तोकिएको छ।










