५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाराको काँटघाट महादेव मन्दिरमा भक्तजनको घुइँचो



अ+ अ-

सिमरा । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका अन्तर्गत पर्ने काँटघाट महादेव मन्दिर (सहजनाथ महादेव) मा साउन महिनामा विशेष मेला लागेको छ ।

दुई सय वर्ष पुरानो इतिहास बोकेको यो मन्दिर प्रमुख शिवालयहरूमध्ये एक हो । यहाँ प्रत्येक बर्षको साउन महिनाभर मेला लाग्ने गरेको छ । काँटघाट महादेव मन्दिर दर्शन गर्नको लागि आन्तरिक मात्रै नभई भारतबाट पनि ठूलो संख्यामा भक्तजनहरू आउने गरेका छन् । यहाँ मनले मागेको कामना पूरा हुने जनविश्वास रहेको छ । यही आस्थाका कारण विशेष गरी भारतका सीमावर्ती क्षेत्रहरूबाट पनि भक्तजनहरूको घुइँचो लाग्ने गरेको छ ।

मन्दिरमा सन्तान प्राप्तिको कामना, घरपरिवारको सुख(शान्ति र समृद्धिका लागि भक्तजनहरू दर्शनार्थ आउने गर्दछन् । विशेषतः साउन महिनाको आईतवार र सोमवार मन्दिरमा ठूलो भीड लाग्ने गर्छ । मन्दिरका पुजारीकाअनुसार सोमवार मात्रै झन्डै ५० हजार भक्तजन मन्दिर दर्शन गर्न आउने गरेका छन् । पछिल्ला वर्षहरूमा काँटघाट महादेव मन्दिर तराई क्षेत्रका बोलबम यात्रुहरूको प्रमुख गन्तव्य बनेको छ । बारा, पर्सा, रौतहट, सर्लाही र मकवानपुर लगायतका जिल्लाबाट श्रद्धालुहरू वागमती नदीबाट ३७ किलोमिटर पैदल यात्रा गरी पवित्र जल ल्याएर मन्दिरमा अर्पण गर्ने गर्दछन् । एक महिना अघिदेखि नै शुद्ध सात्विक बनेर यात्रा प्रारम्भ गर्ने भक्तजनहरू काँटघाँट मन्दिरमा जल चढाउने परम्परालाई निरन्तरता दिंदै आएका छन् ।

सहजनाथ महादेवलाई स्थानीयवासीहरू ‘जङ्गली बाबा महादेव’ को नामले समेत पुकार्ने गरेका छन् । किंवदन्तिअनुसार सत्ययुगमा भगवान शिवले यही चारकोसे झाडीको क्षेत्रमा सहजरूपमा वनविहार गरी विश्रामको मान्यता रही आएको छ । त्यसै कारण यहाँका बासिन्दाहरूले यो स्थललाई पवित्र मानी पूजाआजा गर्दै आएका छन् ।

राजमार्गबाट झन्डै ४ किमी दक्षिणतर्फ घना जङ्गलको मध्यभागमा रहेको यो मन्दिर धार्मिक मात्र नभई पर्यटकीय दृष्टिले पनि महत्वपूर्ण मानिन्छ । मन्दिर परिसरभित्र गणेश, बसाहा, राम–सीता, राधाकृष्ण, भैरवनाथ, हनुमान लगायतका पुरातात्त्विक मूर्तिहरू रहेका छन् । साथै, एक बिघा क्षेत्रफल ओगटेको पोखरीले मन्दिरको प्राकृतिक सौन्दर्यमा थप निखार ल्याएको छ । धार्मिक आस्था, ऐतिहासिक महत्व, र प्राकृतिक वातावरणको संगम रहेको काँटघाँट महादेव मन्दिर साउन महिनामा शिवभक्तहरूको आस्थाको केन्द्र बन्दै आएको छ ।