२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

पानी परेपछि किसानलाई राहत, रोपाइँ सुरु



अ+ अ-

सिरहा । लामो समय पानी नपर्दा चिन्तित किसान गएरातिको वर्षाले राहत महसुस गरेका छन् । पानी नपर्दा झण्डै ५० प्रतिशत धान रोपाइँ बाँकी रहेको अवस्थामा पानी परेपछि राहत मिलेको हो ।

यहाँका किसानका अनुसार पानीको अभावमा खेत सुकेका थिए, बीउ पहेँलिएको थियो र धान रोप्ने अवस्था थिएन । तर गएराति परेको पानीले केही आशा पलाएको छ । लहान– १८ का किसान वीरेन्द्र चौधरीले भन्नुभयो, “पहेँलिएका बीउ रोप्न पाउने आशा पलाएको छ, यद्यपि अझै पर्याप्त पानीको अभाव छ ।”

लहान नगरपालिकाका कृषि संयोजक बद्रीनारायण यादवका अनुसार राति परेको पानी पनि पर्याप्त छैन । “अझ एक दिन निरन्तर पानी परेको भए रोपाइँ सहज हुने थियो,” उहाँले भन्नुभयो, “तर आजको मौसम हेर्दा त्यस्तो सम्भावना देखिँदैन ।”

सिहकाको दक्षिणी भू–भागमा भूमिगत पानीको प्रयोग गरी रोपाइँ गरिए पनि उत्तरी भेगका अधिकांश किसानले रोपाइँ गर्न सकेका थिएनन् । कृषि ज्ञानकेन्द्र सिरहाको अनुसार गत शुक्रबारसम्मको रेकर्ड अनुसार जिल्लामा ५० प्रतिशत मात्र धान रोपाइँ भएको छ ।

मधेसमा मनसुन सक्रिय, तर पर्याप्त वर्षा छैन

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा नेपालतर्फ सरिरहेको छ । यही कारणले केही स्थानमा हल्कादेखि मध्यम वर्षामापन गरिएको छ । तर यो प्रणाली लामो समय भारततर्फ सक्रिय रहेको हुँदा मधेसमा सुख्खा रहेको विभागले जनाएको छ ।

विभागको विगत २४ घण्टामा मधेसका विभिन्न स्थानमा हल्कादेखि मध्यम मात्राको वर्षा मापन गरिएको छ । विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सिरहामा ९९.४ मिलिमिटर, सप्तरीको बरमझियामा ९१.८ मिलिमिटर, लहानमा ७७.२ मिलिमिटर, धनुषाको हर्दिनाथमा ४७ मिलिमिटर, चिसापानीमा ६८.२ मिलिमिटर, सिरहाको गोलबजारमा ५२.२ मिलिमिटर, महोत्तरीको गौशालामा ५७.६ मिलिमिटर, धनुषाको तुलसीमा ४७.६ मिलिमिटर तथा सर्लाहीमा ४८ मिलिमिटर वर्षा भएको छ । बारा, पर्सा र रौतहटमा भने केवल हल्का वर्षा मात्र मापन गरिएको छ ।

सिरहा लगायतका तराई जिल्लामा बाँकी खेतमा रोपाइँ सम्पन्न गर्न अझै केही दिन निरन्तर पानी पर्ने आवश्यकता देखिएको छ । किसान, कृषि कार्यालय र मौसम विभाग सबैको नजर अब आसन्न दिनको मौसममा टिकेको छ ।रासस