काठमाडौं । जेठ २४ गते पूर्व युवराज्ञी हिमानी शाह छोरा हृदयन्द्र सहित जुम्ला पुग्नु भयो ।
सामाजिक कार्यमा क्रियाशिल हिमानी ट्रस्टले जुम्लाको गुठिचौर गाउँपालिकाअन्तर्गत मनिसाङ्घमा निर्माण गर्न लागेको सुत्केरी सेवा केन्द्रको शिलान्यासका लागि पूर्व युवराज्ञी शाह छोरा हृदयन्द्रलाइ लिएर जुम्ला जानु भएको थियो । पहिलो पटक जुम्ला पुगेका हृदयन्द्रले जुम्ला डायरी एउटा भ्लग मार्फत सार्बजनिक गरेका छन् ।
साउन १४ गते २२ बर्ष पुरा गरी २३ बर्षमा प्रवेश गरेको अबसर पारेर सार्बजनिक गरिएको ‘माई ट्रिप टु जुम्ला’ भ्लगमा जुम्लाको प्राकृतिक सौन्दर्य, सांस्कृतिक र स्थानीय जनजीवनलाई नजिकबाट प्रस्तुत गर्ने प्रयास गरिएको छ । जुम्लामा शाहले विभिन्न ठाउँको अवलोकन गर्नुका साथै प्रख्यात तिला नदीमा कर्णाली प्राविधिक शिक्षालय र सिंजा उपत्यकामा रहेको डुन्डुल चैत्यमा लामै समय बिताएका थिए ।

त्यससँगै, सो क्षेत्रमा भेटेका स्थानीयहरुसँग खुलेर कुराकानी गरेका थिए । कुराकानीका सन्दर्भमा केही जिज्ञासा उनले राखेका थिए भने केही जिज्ञासा स्थानीयवासीहरुको थियो । डुडल चैत्यमा भेट भएकी पन्चकली बुढाले हृदयन्द्र शाहलाई सोधिन् – हाम्रो नेपाल समृद्ध कहिले हुन्छ होला ?

१५ मिनेट लामो भिडियोमा विशेषत: जुम्लाको प्राकृतिक सौन्दर्यता, भौगोलिक अवस्था, रहनसहन, जनजीवन र पर्यटकीय गन्तव्यहरुको बारेमा वर्णन गरिएको छ । सँगै, भिडियोको अन्त्यमा जुम्लाको सौन्दर्यता देखेर आश्चर्य लागेको र पुन: घुम्न आउने उनले बताएका छन् ।
जुम्ला बजारमा घुम्ने क्रममा हृदयन्द्र एउटा कफी पसल ‘ब्ल्याक स्टोन बेकरी’ मा पस्छन्। त्यहाँ उनले काठमाडौं छाडेर ८ वर्षदेखि जुम्लामा बेकरी चलाइरहेका एक युवा उद्यमीसँग कुराकानी गरेका छन् ।

जुम्ला भ्रमणका क्रममा नै हृदयन्द्रलाई डुडल चैत्यमा भेट हुनुभएकी पन्चकली बुढासंग खुलेर सम्बाद गरेका छन् ।
उनीहरुबीचको संवाद यस्तो छ:
युवती : नमस्कार, हजुरलाई जुम्लामा स्वागत छ ।
हृदयन्द्रः धन्यवाद । तपाईंको नाम ?
युवतीः पञ्चकली बुढा । अनि हजुरको नाम ?
हृदयन्द्रः हृदयन्द्र वीरविक्रम शाह ।
पञ्चकलीः नाम चै. सुनेको हो । एकदमै खुशी लाग्यो, हजुरसँग भेट्न पाएँ । आजै आउनुभएको हो ?
हृदयन्द्र :आजै आएको हो ।
पञ्चकली : प्लेनमा आउनुभएको हो ?
हृदयन्द्र : हो
पञ्चकली : प्लेनमा हल्लाएन र ?
हृदयन्द्रः एकदम हल्लायो । अलि लास्टतिर । अलि टर्न भएपछि हल्लाउँदो रहेछ ।
पञ्चकलीले माथि डाँडाबाट कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठान, काञ्जिरोवा हिमाल लगायत विभिन्न स्थानहरु देखाइन् । अनि उनले हृदयन्द्रलाई अनायास
प्रस्ताव गरिन् : म हजुरलाई थोरै गीत गाएर सुनाउन सक्छु ?
हृदयन्द्रः गर्नु न
पञ्चकलीले सोधिन्– कस्तो लाग्यो ? बुझ्नुभयो र ?
हृदयन्द्रः निकै मिठो, तपाईंले आफैं लेख्नुभएको हो र ?
पञ्चकलीः शब्द आफैं लेखेको लय चै. होइन ।
हृदयन्द्र : राम्रो गाउनुहुँदो रहेछ ।
पञ्चकलीः हजुरसँग भेट हुँदा गाउन मन लाग्यो ।
पञ्चकली: हाम्रो नेपाल कहिले समृद्ध हुन्छ होला ?
हृदयन्द्रः मान्छेहरु सबैले राम्रो काम गरे भने, सबै कुरा राम्रो भयो भने हुन्छ होला । अलिकति हामी पनि लाग्नुपर्यो । आँट गर्नुपर्यो । अनि हुन्छ होला ।
पञ्चकलीः हजुर नेपालमै बस्नुहुन्छ कि ?
हृदयन्द्र : म फिर्ता आउँछु, ब्याचलर मात्रै सक्काउन गएको हो ।

छुट्टिनुअघि पञ्चकलीले हृदयन्द्रसँग सेल्फी खिचिन् । दुवैले एकअर्कालाई अभिवादन गरेर विदा भए ।

फोटो -पदम तिमिल्सिना










