काठमाडौँ। नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताको हैसियत गुमाएका बहादुरसिंह लामाले मुख्यमन्त्रीबाट राजिनामा नदिने बताएका छन् ।
मंगलबार कांग्रेस संसदीय दलको बैठकमा भएको मत विभाजनमा विश्वासका मत गुमाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामाले आफूलाई मुख्यमन्त्री हुनबाट कसैले रोक्न नसक्ने बताए ।
गठबन्धनको सरकारमा संसदीय दलको नेता हुनु र नहुनुले कुनै अर्थ नराख्ने बताउदै उनले भने, ‘सरकार र दल फरक-फरक कुरा हो । मुख्यमन्त्री हुन संसदीय दलको नेता हुन आवश्यक छैन । म कानून विधि विधानअनुसार जान्छु । मैले कसरी राजीनामा दिने ?’
यस्तै, उनले लोकतान्त्रिक पद्धतिबाट निर्वाचित भएर आएको आफूलाई हटाउन आफ्नै दलभित्र जाल बुनेको आरोप लगाए । ‘नेपाली कांग्रेस पार्टी लोकतान्त्रिक विधिमा विश्वास गर्ने पार्टी हो । त्यसले गर्दा अहिलेको प्रक्रियामा लोकतान्त्रिक विधिको प्रक्रिया पुग्यो पुगेन हेर्न बाँकी छ ।’
पूर्ण बहुमतको सरकारको लागि मात्रै संसदीय दलको नेता हुनु आवश्यक रहेको बताउदै उनले यो बहुमत र गठबन्धनको सरकार भएकोले संसदीय दलको नेता हुन आवश्यक नभएको दाबी गरे ।










