९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदकाे विवेकमा एमसीसी, निर्णय नहुँदासम्म सबै काम रोकिने



अ+ अ-

काठमाडाैंः सरकारको नीति तथा कार्यक्रम र बजेटमा परेको अमेरिकी सहयोग परियोजना एमसीसीका बारेमा शनिबार बसेकाे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले पनि ठाेस निर्णय गर्न सकेन । तर बैठकले याे विषय अब संसदकाे जिम्मामा छाडिएकाे छ ।

संसदबाट निर्णय नहुँदासम्म भने यससम्बन्धी सबै काम रोक्ने समझदारी पार्टीभित्र बनेकाे छ । 

शनिबार बसेको पार्टीको सचिवालय बैठकले सम्झौता अनुमोदन नभएसम्म त्यसअन्तर्गतका कामहरु अघि नबढाउने समझदारी बनेको हो ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले अनुमोदन नभएको अवस्थामा एनसीए अन्तर्गतका काम राेक्ने समझदारी बनेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अनुमोदन भएपछि गर्न सकिने काम पछि नै गर्ने र अहिले रोक्ने समझादारी बनेको छ ।’

नेकपाले गठन गरेको एमसीसी अध्ययन कार्यदलले बुझाएको प्रतिवेदन अध्ययन गरी प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहालबीच समझदारी बनेपछि सचिवालयले निष्कर्ष निकाल्ने उहाँले बताउनुभयो । बजेटमा एमसीसी अन्तर्गतको परियोजना समेटिएको विषयमा अर्थमन्त्री युवराज खतिवडाले सचिवालयकाे बैठकमा जानकारी गराउनु भएकाे थियाे । 

प्रधानमन्त्रीले संसदमा जानकारी गराउनु भएअनुसार अर्थमन्त्री खतिवडाले सचिवालय बैठकमा एमसीसी पारित भए त्यही अनुसार काम हुने र नभए वैकल्पिक व्यवस्था गरेर अगाडी बढ्ने बताउनुभएको छ । प्रवक्ता श्रेष्ठका अनुसार अर्थमन्त्री खतिवडाले सोही अनुसार नै संसदमा जवाफ दिनुहुनेछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा अर्थमन्त्री खतिवडा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र नेता भीम रावललाई समेत आमन्त्रण गरिएको थियो । रावल र ज्ञवाली नेकपाले गठन गरेको एमसीसी अध्ययन कार्यदलका सदस्य हुनुहुन्छ ।