काठमाडौँ । राष्ट्रिय विभूती भीमसेन थापाको २५१ औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइएको छ ।
शुक्रवार काठमाडौंको सुन्धारास्थित धरहरा परिसरमा भीमसेन थापाको तस्बिरमा माल्यार्पण गरी उहाँप्रति श्रद्धाञ्जली अर्पण गरिएको हो ।
कार्यक्रममा राजनीतिक दलका नेता कार्यकर्तासहित विभिन्न क्षेत्रका प्रतिनिधिहरूले पुष्पगुच्छा अर्पण गरी भीमसेन थापाप्रति सम्मान प्रकट गरेका छन् । कार्यक्रममा उपस्थित व्यक्तिहरुले राष्ट्रिय विभूती थावाको प्रधानमन्त्रीत्वकालमा भए गरेका सबै कामहरू नयाँ पुस्तामाझ ल्याउनुपर्ने बताए । आउँदो वर्षभित्र धरहरा परिसरमा भीमसेन थापाको शालिक निर्माण गर्ने जानकारी पनि दिइएको छ । धरहराका जननी भीमसेन थापाले राजधानी काठमाडौँको टुँडिखेल नजिक बाघदरबारको छेउमा एक जोडी धरहरा बनाउन लगाउनुभएको थियो ।
विसं १८८२ मा समानान्तर रूपमा दुई धरहरा ठड्याइएका थिए । तर १८९० भदौ १२ गते आएको ठूलो भूकम्पले दक्षिणतर्फको धरहरा फेदैसम्म ढल्यो भने उत्तरतर्फको केही क्षतिग्रस्त भयो । पछि पूरै ध्वस्त भएको धरहरा छोडी केही मात्र क्षति भएको धरहराको पुनःनिर्माण गरियो । उक्त पुनः निर्मित धरहरा १०० वर्षपछि अर्थात् १९९० माघ २ गतेको महाभूकम्पमा फेरि क्षतिग्रस्त भयो । तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले धरहरा पुननिर्माण गराउनुभयो । वि.स.१९९२ सालमा पुनःनिर्माण गरिएको धरहरा २०७२ वैशाख १२ गतेको भूकम्पमा क्षतिग्रस्त भएर ठुटो बनेको छ ।
धरहरा भीमसेन थापाको कीर्ति भएकाले यसलाई भीमसेन स्तम्भ पनि भनिन्छ । वि.स. १८६३ देखि १८९४ सम्म करिब ३१ वर्ष देशको शासन सम्हाल्नुभएका उहाँले कतिपय शासकीय सुधार, आर्थिक सुधार र अन्तरार्नष्ट्रिय सम्बन्ध सुधारका कामहरू गर्नुभएको छ । उहाँले कमाराकमारी प्रथा उन्मूलनको घोषणा गर्नुभएको थियो भने दाजुको मृत्यु भएमा भाउजूलाई पत्नीका रूपमा स्वीकार्नुपर्ने कुप्रथामाथि पनि प्रतिबन्ध लगाउनुभएको थियो । यसैगरी, समाजमा हैकम चलाएर बसेका सरकारी कर्मचारी, साहुमहाजन एवम् सम्पन्न वर्गले सर्वसाधारण श्रमिक वर्गलाई कुनै ज्याला वा पारिश्रमिक नदिई सित्तैमा आफ्नो निजी काममा लगाउने ‘बेठबेगार’ प्रथा तथा अनावश्यक भोजभतेर र दानदक्षिणाको चलन पनि हटाउनुभएको थियो ।
नेपाली सेनाको प्रधानसेनापति समेत भएका भीमसेन थापाले सेनाको आधुनिकीकरणका लागि महत्त्वपूर्ण भूमिका खेल्नुभएको थियो । नेपाली सेनालाई आधुनिकीकरण र सुदृढ बनाउन फ्रान्सको सहयोग लिएर आधुनिक तालिम, हतियार, पोशाक, व्यारेक, युद्धमा जाँदा सहयोगी भरिया दिने आदिको व्यवस्था गरेको पाइन्छ ।









