१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह नेपाल सरकार र जापान सरकारबिच अनुदान सम्झौता सम्पन्न भारत सरकारको सहयोगमा पुनर्निर्मित गुस्तल र प्रथमश्री महाविहारको आगम उद्घाटन लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले देवानगञ्ज घटनापछि सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सरकारको अपिल इथानोलसम्बन्धी पोस्टलाई लिएर भारतीय मन्त्रीद्वारा मेटासहितका कम्पनीविरुद्ध मुद्दा जापानको क्युशुमा ७.१ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी फिर्ता युवती मृत फेला, माइती पक्षद्वारा निष्पक्ष छानबिनको माग भारतले धौलीगङ्गा बाँध खोल्ने भएकाले महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह विदेशमा शाखा विस्तार गर्दै नेपाली रेष्टुरेन्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘काउन्सिललाई राजनीतिक हस्तक्षेप मुक्त बनाउनुपर्छ’



अ+ अ-

काठमाडौँ।  सांसदहरूले मिडिया काउन्सिललाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मिडिया काउन्सिल विधेयकमाथि संशोधनकर्तासँगको छलफलमा उहाँहरूले काउन्सिललाई सरकारको एकाधिकार र हस्तक्षेपबाट मुक्त बनाउन सुझाब प्रस्तुत गर्नुभयो । विधेयक सञ्चारमाध्यम र सञ्चारकर्मीलाई नियन्त्रण नभई नियमन गर्ने गरी आउनुपर्ने धारणा राख्नुभयो ।

बैठकमा संशोधनकर्ता सांसद मनिष झाले काउन्सिलको अध्यक्ष र सदस्य नियुक्तिमा राजनीतिक हस्तक्षेप रोक्नुपर्ने बताउनुभयो  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का झाले विज्ञसहितको समितिले सिफारिस गरेबमोजिम नियुक्त गर्न उपयुक्त हुने सुझाव दिनुभयो ।

नियुक्तिका लागि मन्त्रालयसमक्ष सिफारिस गर्न सङ्घीय संसद्को सभामुखको संयोजकत्वमा सम्बन्धित क्षेत्रको विज्ञ एक जना र नेपाल पत्रकार महासङ्घका अध्यक्ष सदस्य रहेको तीन सदस्यीय सिफारिस समिति बनाउने व्यवस्थाका लागि उहाँले प्रस्ताव राख्नुभयो ।

संशोधनकर्ता सांसद एवं नेपाल कम्युनिष्ट पार्टी(एमाले) का बिजुला रायमाझीले विधेयकको नाम नेपाल सञ्चार परिषद् राख्न सुझाव दिनुभयो । उहाँले पत्रकारलाई झन्झटबिनाको वातावरण बनाइदिँदा स्वतः स्वनियमन बढ्ने धारणा राख्नुभयो ।

संशोधनकर्ता सांसद एवं एमालेका ठाकुरप्रसाद गैरेले नियन्त्रण नभई नियमन गर्नेगरी विधेयक आएको प्रतिक्रिया दिनुभयो । उहाँले विधेयकमा गलत समाचार सङ्कलन र सम्प्रेषण गरेको ठहरेमा हुने दण्ड र सजायलाई सरलीकृत गर्न सुझाव दिनुभयो ।

“पत्रकार आतङ्कित हुने परिस्थिति नबनोस् । काउन्सिलको काम प्रभावकारी, जवाफदेही र समयमा सत्यतथ्य निरुपण भएर पीडितलाई न्यायको अनुभूत गराउनका लागि थप व्यवस्था गरेर जानुपर्छ”, सांसद गैरेले भन्नुभयो ।

संशोधनकर्ता सांसद् एवं नेकपा (एकीकृत समाजवादी) का शेरबहादुर कँुवरले काउन्सिलको पदाधिकारी नियुक्तिका लागि मन्त्रालयको सचिवको स्थानमा स्वतन्त्र व्यक्ति हुनुपर्ने धारणा राख्नुभयो । “सरकारको मातहतमा राखेर त्यो क्षेत्र कसरी निष्पक्ष हुन्छ, कसरी हस्तक्षेप हट्छ ? त्यसैले विश्वासको आधार बनाएर जानुपर्छ”, उहाँले भन्नुभयो ।

संशोधनकर्ता सांसद एवं एकीकृत समाजवादीका  राजेन्द्रप्रसाद पाण्डेले विधेयकले परिस्थति र समयसापेक्ष नियमनको सुनिश्चितता गर्नुपर्ने आवश्यक औँल्याउनुभयो । “समयसापेक्ष अनलाइनलगायत विद्युतीय माध्यम, छापा पत्रकारितासमेतलाई मर्यादित, जिम्मेवार एवं विश्वासनीय बनाउन स्वच्छ, स्वतन्त्र रूपमा पत्रकारिताको विकास, संरक्षण र नियमनमा ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो ।

बैठकमा संशोधनकर्ता सांसदहरू डा अमरेशकुमार सिंह, दुर्गा राई र नारायणी शर्माले आआफ्नो संशोधन एवं सुझाव प्रस्तुत गर्नुभएको थियो । उहाँहरूले आमसञ्चारमाध्यम र सञ्चारकर्मीलाई विश्वासयोग्य वातावरण बनाउन र स्वनियमनका लागि ध्यान केन्द्रीत गर्न सुझाव दिनुभयो ।

काउन्सिलको बैठकका लागि अध्यक्षबाहेक सदस्यहरूले आकस्मिक बैठक अनुरोध गर्नसक्ने र नियमित बैठक बस्नै पर्नेतर्फ सांसदहरूले ध्यानार्कषण गराउनुभएको थियो ।