५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

निसीखोलामा अझै जीवितै छ ‘थाम राम’ संस्कृति



अ+ अ-

ढोरपाटन, (बागलुङ) । ‘थाम राम’ निसीखोलाको विशिष्ट मौलिक संस्कृति हो । यो सयौँ वर्ष पुरानो मानिन्छ । बागलुङको निसीखोला गाउँपालिका–६ मा यतिबेला यो संस्कृतिले रौनक छाएको छ ।

विशेषगरी साउने सङ्क्रान्ति पर्वसँग साइनो जोडिएको थाम रामलाई स्थानीयले संरक्षणमा जोड दिएका छन् । स्थानीयको भाषामा ‘थाम’को अर्थ तरुनी तन्नेरी हात समाएर नाचगान गर्ने, दौडिने र ‘राम’को अर्थ मेला भन्ने बुझिन्छ । हरेक वर्ष साउन १ गते गाउँका युवायुवती जम्मा भएर लेकमा पुगेर फूल टिप्ने गर्छन् । गीत गाउँदै, नाच्दै र रमाइलो गर्दै फूल टिप्न लेक पुगेका उनीहरु साँझ गाउँ फर्किएर सङ्क्रान्ति मनाउने गर्छन् । भोलिपल्ट थामडाँडामा जम्मा भएर तरुनीतन्नेरीलाई लेकबाट लिएको फूल लगाइदिने, नाचगान गर्ने र हात समातेर दौडिने गर्छन् । हात समाएर दौडिने संस्कृतिलाई स्थानीयले थाम खेल्ने भन्छन् ।

थाम खेल्नेमा युवायुवतीदेखि बूढाबूढीसम्म सहभागी हुन्छन् । यो संस्कृतिलाई नयाँ पुस्ताले पनि चासो दिएका छन् । यसरी थाम खेल्दा देवीदेवता खुसी हुने धार्मिक मान्यता छ । निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरका अनुसार पहिलेपहिले थाम खेल्ने जोडीले मायाप्रेम गर्ने र विवाह गर्ने गर्थे । तर पछिल्लो समय त्यो चलन भने कम भएको छ । थाम राम युवायुवतीको जमघट हुने माध्यसमेत रहेको अध्यक्ष घर्तीमगरले बताउनुभयो ।

“थाम राम यो क्षेत्रको ऐतिहासिक संस्कृति हो, यसमा मगर समुदायको पहिचान जोडिएको छ, लेकमा फूल टिप्न जाँदा देउरालीमा ध्वजा बाँध्ने, फूल चढाउने र पूजा गर्ने गरिन्छ, यसरी फूल चढाउँदा पितृ खुसी हुने जनविश्वास छ”, अध्यक्ष घर्तीमगरले भन्नुभयो, “लेकमा फूल टिप्ने र थाम खेल्ने चलन त धेरै पहिलादेखि मनाइँदै आएको छ, हामीहरू पनि यसलाई संरक्षण गर्नुपर्छ भनेर लागेका छौँ ।”

यो संस्कृति द्वन्द्वकालमा हटेको थियो । विसं २०५७ देखि रोकिएको संस्कृति स्थानीयले गत वर्षदेखि पुन: मनाउन थालेका छन् । स्थानीय ६८ वर्षीय नैनसिंह बुढामगरले यो संस्कृति कहिलेदेखि मान्न सुरु भएको भन्ने यकिन नभएपनि बूढापाकाले भनेअनुसार बाइसेचौबीसे राजाका पालादेखि सुरु भएको हुनसक्ने बताउनुभयो । थाम रामले वर्षौँदेखि टाढिएका प्रेमीप्रेमिका, आफन्त जमघटको अवसर जुटाउने उहाँको भनाइ छ ।

बुढामगरले भन्नुभयो, “थाम राम पुरानो संस्कृति हो, यसबेला फूल टिप्ने, तरुनी तन्नेरीलाई लगाइदिने, नाचगान गर्ने र मनका वेदना पोख्ने गरिन्छ, पहिलेपहिले अहिलेको जस्तो फोनको जमान थिएन, तरुनीतन्नेरी भटे हुनका लागि कुनै मेला महोत्सव हुनुपथ्र्यो, त्यसका लागि स्थानीयले लेकमा गएर फूल टिप्ने र थाम खेल्ने एउटा समय तोके सोहीअनुसार अहिले चल्दै आएको भन्ने लाग्छ, त्योसँगै धार्मिक आस्थासँग पनि यसको महत्व जोडिएको छ ।”

यहाँको रिग युवा क्लबले थाम राम संस्कृतिको संरक्षणमा अग्रणी भूमिका खेल्दै आएको छ । युवालाई एकीतृत गर्ने र पाका पुस्ताबाट नयाँ पुस्तामा संस्कृति हस्तान्तरणको प्रयास गरिएको छ । युवालाई बूढापाकासँगै राखेर सिकाउने कार्य गरेको क्लबका अध्यक्ष भुवनसिंह घर्तीमगरले जानकारी दिनुभयो । युवाले चासो नदिए संस्कृति नै लोप हुने उहाँको भनाइ छ । रासस