४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरहा कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी



अ+ अ-

सिरहा। जिल्ला कारागार सिरहामा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी राखिदा व्यवस्थापनमा चुनौती थपिएको छ ।

एक सय ५० जना क्षमताको कारागारमा हाल चार सय ५८ जना कैदीबन्दी रहेका छन् । अत्यधिक चाप र गर्मीका कारण कैदीहरू सुत्नसमेत पालो मिलाएर बस्न बाध्य छन् ।

कैदीबन्दीको चापसँगै अवैध गतिविधि हुने गरेको गुनासो बढेपछि आज यहाँ सुरक्षा निकाय सम्मिलित टोलीले अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालय सिरहाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको संयुक्त टोलीले कैदीबन्दीको कोठामा पुगेर अनुगमन गरेको कारागार प्रमुख सुवोध महतोले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “कारागारमा आज अनुगमन गरिएको छ । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा कठिनाइ छ । अनुगमनका क्रममा कैदीबाट पङ्खा, कुलरलगायतका सुविधाको माग गरिएको छ ।”

महतोका अनुसार ५४ वर्ष पुरानो यो कारागारको भवन र पर्खालसमेत जीर्ण छ । यी समस्या समाधानका लागि पटक–पटक माग गर्ने गरिएको छ ।

यसअघि कारागारभित्र आपराधिक गतिविधि भएको आरोपमा छानबिन समितिसमेत गठन गरिएको थियो । डेढ महिना लगाएर बुझाइएको प्रतिवेदन अझै सार्वजनिक भइसकेको छैन ।