३ पुष २०८२, बिहीबार
,
Latest
निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश प्रधानमन्त्रीलाई जेनजी प्रतिनिधिको सुझाव– घाइते र शहीद परिवारका माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु यस्तो बन्यो एमालेको टिम सरकारका क्रियाकलाप जेन–जी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन्ः जेन–जी प्रतिनिधि लेनिन बिष्ट रवि र छविको मुद्दामा बहस सकियो जेन–जी आन्दोलनका घाइते, शहीद परिवारलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाउने व्यवस्था मिलाइँदैछः श्रममन्त्री भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिस्नेरीका थापा च्याउखेतीमा लगानी बढाउँदै



अ+ अ-

गण्डकी । युवाहरूको विदेश मोह बढेसँगै देशव्यापी रूपमा कृषिप्रतिको अनाकर्षण बढिरहेको अवस्थामा पोखरा महानगरपालिका(११ का ध्रुवबहादुर थापाले भने व्यावसायिक च्याउखेतीमा लगानी बढाउँदै जानुभएको छ ।

काहुँ सिस्नेरी एग्रो फार्म सञ्चालन गर्दै आउनुभएका उहाँले च्याउखेतीका लागि करिब रु एक करोड ५० लाख बढी लगानी गरिसक्नुभएको छ । विगतमा खाद्यान्न आपूर्तिको काममार्फत व्यावसायिकतामा लाग्नुभएका उहाँले कोरोना महामारीपछि व्यावसायिक रूपमा च्याउखेती सुरु गर्नुभएको हो ।

कोरोनाकालीन समयमा आएको व्यावसायिक च्याउखेतीको योजनालाई व्यवहारमा उतार्नुअघि विसं २०७४ देखि अध्ययन तथा प्रक्रियागत काम सुरु गर्नुभएको थियो । अहिले उहाँले चिस्यानसहितको आधुनिक प्रविधियुक्त टनेलमा च्याउखेती गरिरहनुभएको छ ।

विसं २०७७ फागुनमा चिस्यानसहितको प्रविधियुक्त टनेलको काम सकेपछि च्याउखेती थाल्नुभएका उहाँले सुरुमा रु ५० लाख लगानी गरेको जानकारी दिनुभयो । उहाँका अनुसार सुरुमा १२ टन क्षमताको उक्त टनेलबाट प्रत्येक तीन महिनाको एक याममा दुई हजार ४०० किलोसम्म गोब्रे च्याउ उत्पादन भएको थियो ।

बजारको बढ्दो मागसँगै च्याउखेतीप्रतिको लगाव बढेपछि अहिले १२ टन क्षमताको टनेललाई विस्तार गरी २० टन बनाएको जनाउँदै थापाले थप २० टन क्षमताको टनेल निर्माण गरिरहेको बताउनुभयो । बाह्र टन क्षमताको टनेलको क्षमता वृद्धिसँगै अर्को टनेल निर्माण गर्दा करिब रु ७० लाख लगानी भएको उहाँले जानकारी दिनुभयो ।

पछिल्ला समयमा गरिएको थप टनेल निर्माण तथा क्षमता विस्तारका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत रु २७ लाख ९१ हजार ८८८ अनुदानबापतको रकम प्राप्त भएको थापाले उल्लेख गर्नुभयो । उहाँका अनुसार दैनिक करिब पाँच सय किलो गोब्रे च्याउ टिप्दै आइएको छ ।

“कन्ये च्याउ सामान्य टहरामा उत्पादन गर्न सकिए पनि गोब्रे च्याउका लागि हाइटेक प्रविधि जडित टनेलभित्र गर्नुपर्ने हुन्छ । आफूले उत्पादन गरिरहेको च्याउको खपत पोखरामा हुने गरेको छ”, थापाले भन्नुभयो । बीस टन क्षमताका दुईवटा टनेलबाट पूर्णरूपमा उत्पादन हुँदा प्रत्येक तीन महिनाको समयावधिमा छ हजार किलो च्याउ उत्पादन गर्ने लक्ष्य लिइएको छ ।

“बजारमा प्रतिकिलो रु तीन सयदेखि रु तीन सय ५० सम्ममा च्याउ बिक्री हुन्छ”, उहाँले भन्नुभयो, “पोखराको बजारमा दैनिक छ सय किलोसम्म यो च्याउको माग छ ।” थापाको च्याउखेती फार्ममा हाल १० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । च्याउको कम्पोष्ट राख्ने, टिप्ने, त्यसको व्यवस्थापन गर्नेलगायत कामका लागि आवश्यकताअनुसार अन्य जनशक्ति खटाइएको गरिएको उहाँले बताउनुभयो ।

बहुपोषणयुक्त च्याउमा ३५ प्रतिशत प्रोटिन पाइन्छ भने क्यालोरी तथा चिल्लो पदार्थको मात्रा कम हुने भएकाले पछिल्लो समय यसको माग र प्रयोग गर्नेको सङ्ख्या बढ्दै गएको थापाको भनाइ छ । “च्याउमा ‘एर्गो थियोनिन’ भन्ने तत्व हुन्छ, जसले चाउरीपना हटाउनुका साथै छालाको सुरक्षा गर्दछ । यसमा ‘एन्टी अक्सिडेन्ट’ प्रशस्त मात्रामा पाइन्छ”, उहाँले भन्नुभयो ।

रोग प्रतिरोधात्मक क्षमता हुने च्याउमा भिटामिन डि प्राप्त हुन्छ भने कम मात्रामा कार्बोहाइड्रेड हुन्छ । नियमित रूपमा च्याउ खानाले उच्च रक्तचाप, मधुमेहलगायत रोग नियन्त्रण गर्न मद्दत पुग्ने तथा क्यान्सरको जोखिम कम गर्नुका साथै तौल घटाउन पनि उपयोगी मानिन्छ ।

च्याउ खेतीमा आकर्षण बढाउँदै परियोजना

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई, कास्कीले पोखरा र आसपासमा व्यावसायिक च्याउ खेतीप्रतिको आकर्षण बढाउन अनुदान, सहयोगलगायतका कार्यक्रम अघि बढाएको छ ।

परियोजनाअन्तर्गत पोखरा र आसपासका क्षेत्रमा च्याउखेतीको विकासका लागि गत आवमा करिब रु ४० लाख लगानी गरिएको परियोजना कार्यान्वयन इकाईका प्रमुख माधव लम्सालले जानकारी दिनुभयो । पोखरा कन्ये च्याउमा आत्मनिर्भर बनिसकेको बताउँदै उहाँले गोब्रे च्याउमा आत्मनिर्भर बनाउनका लागि पहल भइरहेको उल्लेख गर्नुभयो । आगामी एक(दुई वर्षभित्रमा यस क्षेत्रलाई गोब्रे च्याउमा पनि आत्मनिर्भर बनाउने गरी काम भइरहेको उहाँको भनाइ छ ।