काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषण गर्दै उपप्रमुख सुनिता डंगोलले क्षमा मागेकी छिन् ।
आइतबार महानगरको १७ औं नगरसभाको पहिलो बैठकमा बजेट प्रस्तुत गर्ने क्रममा उनले समयमै बजेट ल्याउन नसकेको भन्दै काठमाडौंबासीसँग माफी मागेकी हुन् ।
यस्तै, उनले महानगर भित्रको तिता मिठा, विवादहरु मन्थन हुँदै फेरि एकढिक्का भएको बताइन् । ‘समयमै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पेस गर्न नसकेकोमा मेरो व्यक्तिगत, नगरसभाका सदस्यको तर्फबाट महानगरवासी र सरोकारवाला निकायसमक्ष क्षमायाचना गर्दछौं,’ उनले भनिन्, ‘विगतका दिनहरूमा हामीबीच केही अविश्वास, तितामिठा अनुभव प्रस्तुत भए । आरोप प्रत्यारोप पनि भए । सबै कुरा मन्थन हुँदै गएको छ । समस्याको समाधान पनि हुँदै गएको छ । आज हामी फेरि एकढिक्का भएर गरिमामय सभामा उपस्थित भएका छौं ।’
संवैधानिक व्यवस्था अनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नु पर्ने भए पनि प्रमुख प्रशाकियको विषयलाई लिएर विवाद भएपछि कामपामा बजेट आएको थिएन ।










