काठमाडौं । नेपाल चिकित्सक संघले आज देशभर आकस्मिक बाहेकका सेवा ठप्प पारेको छ ।
उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी पछिल्ला मुद्दामा सुनाएको फैसलाले नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको भन्दै संघले आज आकस्मिक बाहेकका सेवा रोकेको हो ।
संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्दा स्वास्थ्य परीक्षणका लागि बिहान अस्पतालमा पुगेका बिरामी अलपत्र परेका छन् ।
उपभोक्ता अदालतले उपचारमा लापरवाही गरेको मुद्दामा बिरामीका आफन्तको पक्षमा फैसला गरेको थियो । अदालतले ओम अस्पतालले ५० लाख ७० हजार, हिमाल अस्पताल र उपचारमा सम्लग्न चिकित्सकले १ करोड ४५ लाख रुपैयाँ र ग्राण्डी सिटी अस्पताल र त्यहाँ उपचारमा कार्यरत चिकित्सकले ५७ लाख रुपैयाँ क्षतिपूर्ति बिरामी पक्षका परिवारलाई तिर्नुपर्ने फैसला गरेको थियो ।
अदालतको उक्त निर्णयले मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको भन्दै कानुन संशोधनमार्फत चिकित्सकीय मुद्दा हेर्ने अधिकार मेडिकल काउन्सिलमा मात्रै सीमित गरिनुपर्ने उनीहरको माग छ ।










