२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

टिकोटमा बन्दाखेतीबाट वार्षिक एक करोड भित्रियो



अ+ अ-

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–७ हिस्तान टिकोटका कृषकले बेमौसमी बन्दाखेती गरेर वार्षिक रु एक करोडबढी रकम गाउँमा भित्र्याउने गरेका छन् ।

अनुकूल भूगोल र हावापानी, राम्रो बजारभाउ पाउने र आयआर्जन गर्न सकिने भएपछि पाउद्धारका बासिन्दाले बर्खामा कोदो, मकै रोप्ने बारीमा बन्दाखेती गर्न थालेका हुन् ।

अन्नपूर्ण–७ का वडासदस्यसमेत रहनुभएका कृषक बुद्धिवीर पुनले टिकोटका एक सय परिवारमध्ये अधिकांशले बन्दाखेती गरेका बताउनुभयो । “गत वर्ष रु एक करोड बराबरको बन्दा बिक्री भएको थियो”, उहाँले भन्नुभयो, “यसपाली कृषक र क्षेत्रफलसँगै बन्दाको उत्पादन तथा आम्दानी बढ्ने अपेक्षा गरेका छौँ ।” उहाँका अनुसार एक जना कृषकले रु एक लाखदेखि रु सातलाख सम्मको बन्दा बिक्री गरिरहेका छन् ।

तीन–चार वर्षअघिसम्म पुनसहित टिका पाइजालगायत पाँच जनाले टिकोटमा बन्दा खेती सुरु गर्नुभएको थियो । दुई हजार २५० मिटर उचाइमा उच्च पहाडी भूगोलमा अवस्थित टिकोटको बेमौसमी बन्दाले बजार पाएपछि पछिल्लो तीन वर्षयता कृषकहरू यसतर्फ आकर्षित भएका हुन् ।

खाद्यबालीको तुलनामा छिटो र नगद आम्दानी हुने भएकाले बन्दाखेती सुरु गरेको टिकोटका कृषक मनराज गर्बुजाले बताउनुभयो । गत वर्ष रु एक लाखको बन्दा बेचेको जनाउँदै उहाँले यस वर्ष १४ रोपनी जग्गामा कोदो र मकैको विकल्पमा बन्दाखेती गरिरहेको उल्लेख गर्नुभयो ।

जेठमा लगाएको बन्दा असारको अन्तिम सातादेखि बजार पठाउने हुन्छ । भदौ महिनासम्म बिक्री गर्न मिल्ने गरी यहाँका कृषकले फरकफरक समयमा बेर्ना सारेका मनराजले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष प्रतिकिलो रु ५० का दरले बन्दा बिक्री भएको थियो ।

टिकोटका कृषकहरूद्वारा उत्पादित तरकारी बेनी, जोमसोम, पोखरा, बागलुङलगायत विभिन्न स्थानमा बिक्री हुने कृषक टिका पाइजा पुनले बताउनुभयो । रासायनिक मल र विषादीको प्रयोगबिना तरकारीखेती भइरहेको बताउँदै उहाँले बिषादीको विकल्पमा गाईभैँसीको गहुँत र गोबर प्रयोग गर्ने गरिएको जानकारी दिनुभयो ।

“रासायनिक मलको विकल्पमा स्याउला, पातपतिङ्गर र गाईवस्तुको गोबर कुहाएर मल बनाउँछौँ”, उहाँले भन्नुभयो, “प्राङ्गारिक प्रविधिबाट उत्पादन भएका बेमौसमी बन्दाले बजार र उचित मूल्य पाएकाले कृषक उत्साहित छौँ ।”

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत अन्नपूर्ण गाउँपालिकाले टिकोमा ‘तरकारी पकेट कार्यक्रम’ सञ्चालन गरेको छ । पकेट कार्यक्रममार्फत कृषकलाई अनुदानमा बीउ, कृषि औजार र प्रविमिा सहयोग गरिरहेको गाउँपालिकाका कृषि अधिकृत श्यामशरण कुर्मीले बताउनुभयो ।

उहाँका अनुसार चालु आर्थिक वर्षमा रु १२ लाख बजेट विनियोजन गरेको उल्लेख गर्दै टिकोट तरकारी पकेट कार्यक्रमका लागि आगामी आवका लागि थप रु छ लाख रकम विनियोजन भएको जानकारी दिनुभयो । रासस