२७ मंसिर २०८२, शनिबार
,
Latest
एमालेलाई देव गुरुङको प्रश्तावः देश संकटमुक्त गराउन मिलेर अघि बढौं एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागत नजिक अण्डाको मूल्य



अ+ अ-

नारायणगढ । गर्मी मौसमका कारण अण्डाको उत्पादन घटेसँगै यसको मूल्य लागत नजिक पुगेको छ । लामो समयदेखि घाटा व्यहोर्दै आएका किसानले केही राहत महसुस गर्न थालेका छन् ।

अण्डा उत्पादनमा संलग्न कृषि फार्महरूले हालै जारी गरेको मूल्यका आधारमा नेपाल लेयर्स कुखुरापालक सङ्घले समर्थन मूल्य निर्धारण गरेको हो । सङ्घले मूल्य समायोजन गरी आजदेखि लागू हुनेगरी ठूलो अण्डाको मूल्य प्रतिक्रेट (३० वटा) रु ४९५ र मझौला अण्डाको रु ४६५ कायम गरेको छ ।

नेपालमा हाल अण्डाको औसत लागत मूल्य प्रतिगोटा रु १६ दशमलव ५६ रहेको छभने नयाँ मूल्यअनुसार किसानले ठूलो अण्डाको प्रतिगोटा रु १६ दशमलव ५० पाउने भएका छन् । यो मूल्य अझै लागतभन्दा थोरै कम भए पनि अघिल्लो तुलनामा केही राहत पुगेको किसानको भनाइ छ ।

दाउन्ने, हिमचुली, खिलुङकाली ९जनकपुर एग्रो०, सुविश, भिज्जु र शिवम् लेयर्सजस्ता फार्मले ठूलो अण्डाको मूल्य प्रतिपेटी रु तीन हजार ६४५ देखि रु तीन हजार ६६० र मझौला अण्डाको रु तीन हजार ४४५ देखि रु तीन हजार ४६० कायम गरेका छन् ।

नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार अण्डा उत्पादनमा संलग्न कुखुराको सङ्ख्या घट्नु, पर्यटकको आगमन वृद्धि र स्कुल–कलेज सञ्चालनले माग बढेपछि मूल्य बढेको हो । साथै बुढा कुखुरा बिक्री भई किसान विस्थापित हुँदा नयाँ चल्ला हाल्न नसकिएकाले पनि उत्पादनमा असर परेको उहाँले बताउनुभयो ।

“अहिलेको परिस्थिति हेर्दा अण्डाको मूल्य क्रमशः बढ्ने सङ्केत देखिन्छ,” पोखरेलले भन्नुभयो, “मूल्य बढ्दा किसान उत्साहित छन्, हाल दैनिक २८–३० लाख गोटा अण्डा उत्पादन भइरहेको छ ।”

पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले पनि माग र आपूर्तिको असन्तुलनका कारण मूल्य बढेको बताउनुभयो । “अब केही दिनमा नै किसानले लागत मूल्य पाउने सम्भावना छ,” उहाँले भन्नुभयो ।

कुखुरापालक तथा उद्योग सङ्घ चितवनका निवर्तमान अध्यक्ष त्रिलोचन कँडेलका अनुसार अघिल्लो वर्षको यही समय पनि अण्डाको मूल्य वृद्धि भएको थियो । “अहिले पनि यदि किसानले लागत मूल्य नपाए बाँकी रहेका किसान पनि विस्थापित हुनेछन्,” उहाँले चिन्ता व्यक्त गर्दै भन्नुभयो । विशेषगरी अत्यधिक गर्मीका कारण अण्डा उत्पादन झन्डै २५ प्रतिशत घट्ने गरेको कृषकको अनुमान छ । रासस