काठमाडौं। २०७७ माघ र २०७८ असारमा दुई चरणमा गरिएको ५२ संवैधानिक पदाधिकारीको नियुक्तिविरुद्ध दायर रिटहरूमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासले आज (बुधबार) फैसला सुनाउन लागेको छ।
फैसला सुनाउनका लागि कानुन व्यवसायी र सञ्चारकर्मीहरूलाई इजलासमै बोलाइएको छ। संवैधानिक इजलासमा बिहान ११ बजेदेखि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदी छलफलमा जुटेका छन्। छलफलपछि केही समयमा फैसला पढेर सुनाइनेछ।
यी नियुक्तिहरूविरुद्ध १५ वटा रिट दायर भएका थिए, जसको सुनुवाइ गत जेठ १ गते नै सम्पन्न भएको थियो। त्यसपछि जेठ २८ गते निर्णय सुनाउने मिति तय गरिएको थियो। तर, अन्य मुद्दाको चापका कारण फैसला त्यस दिन सुनाउन नसकिएपछि आजको दिन तोकिएको हो।
आजको निर्णयले संवैधानिक परिषद् मार्फत गरिएको नियुक्तिको वैधानिकता पुष्टि या खारेज हुने स्पष्टता दिने अपेक्षा गरिएको छ।










