काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ३५ लाख रुपैयाँ धरौटी बुझाएर तारिखमा रिहा भएका छन् ।
पतञ्जलि जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले तोकेको ३५ लाख रुपैयाँ धरौटी रकम तिरेर पूर्वप्रधानमन्त्री नेपाल गएराति रिहा भएका हुन् ।
धरौटी राखेर तारिखमा छुटेका पूर्वप्रधानमन्त्री नेपाललाई विशेष अदालतले साउन १३ गते उपस्थित हुन भनेको छ ।
फैसलापछि धरौटीको बैंक ग्यारेन्टी बुझाएर अदालत परिसरबाट बाहिरिनेक्रममा पूर्वप्रधानमन्त्री नेपालले पत्रकारलाई कुनै प्रतिक्रिया दिएनन् ।
यसअघि विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले बुधबार उनलाई धरौटीमा छाड्न आदेश दिएको थियो । विशेष अदालतमा पूर्वप्रधानमन्त्री नेपाल लगायतविरुद्धको भ्रष्टाचारसम्बन्धी मुद्दामा बुधबार थुनछेक बहस भएको थियो ।
पूर्वप्रधानमन्त्री नेपाल विशेष अदालतमा उपस्थित भएपछि अपराह्नदेखि उनीसँग बयान लिइएको थियो । त्यसपछि दुवै पक्षका वकिलहरूले थुनछेक बहस गरेका थिए ।
नेपालका तर्फबाट पाँच र सरकारी पक्षबाट पाँच जना वकिलले बहस गरेका थिए ।
पतञ्जलि योगपिठको हदबन्दी जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित ९३ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । आरोपपत्रमा पूर्वप्रम नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
विगतमा पतञ्जलि योगपीठको जग्गा खरिदमा हदबन्दी छुटको निर्णय गरेर अनियमितता गरेको आरोपपत्र विशेष अदालतमा दर्ता भएको हो ।










