८ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विभिन्न मागसहित ११४ दिनदेखि शान्तिपूर्ण धर्नामा पिछडा वर्ग महासङ्घ



अ+ अ-

काठमाडौँ । नेपाल पिछडा वर्ग महासङ्घ र द.वा.पी. सङ्घर्ष समितिले काठमाडौंमा शान्तिपूर्ण धर्ना दिएको छ ।

महासङ्घ केन्द्रिय कार्य समिति तथा द.वा.पी. सङ्घर्ष समितिले विभिन्न मागहरूसहित सहित माईतीघर मण्डलामा धर्ना दिएका हो । गत वर्षको फागुन १९ गतेदेखि शुरु भएको उनीहरूको शान्तिपूर्ण आन्दोलन तथा धर्नाको आज ११४ औँ दिन हो ।

उनीहरूले उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समिति, पिछडिएको समुदाय उत्थान विकास समिति र वादी समुदाय उत्थान विकास समितिमा पदाधिकारीहरू यथाशीघ्र नियुक्ति गरी कार्यालय सञ्चालन गर्नुपर्ने लगायतका मागसहित आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरूले राष्ट्रिय समावेशी आयोगले पिछडा वर्गको थर सूचीकरण सम्बन्धी मन्त्रालयमा बुझाएको प्रतिवेदन मन्त्री परिषद्बाट पास गरी यथाशीघ्र आरक्षण लागु गर्नुपर्ने, तिन वटै विकास समितिमा विगत १ दशक देखि निरन्तर रूपमा कार्यरत कर्मचारीहरूलाई बिना कारण सेवाबाट अवकासित गरिएका कर्मचारीहरूलाई पुनर्बहाली गर्नुपर्ने, नेपाल पिछडा वर्ग (ओबीसी) महासङ्घ, दलित तथा बादी समुदायबिच पटक पटक भएको सम्झौताहरू यथाशीघ्र लागु गर्नुपर्ने माग राखेका छन् । नेपालको संविधान धारा ४२ को उपधारा १, धारा १२ को उपधारा ३ र धारा २८३ बमोजिम राज्यको सरकारी तथा निजी क्षेत्रको रोजगारमा आरक्षित सिट सङ्ख्या निर्धारण गरी यथाशीघ्र लागु हुनुपर्ने साथै सङ्घीय निजामती सेवा विधेयक र शिक्षा विधेयकमा पिछडा वर्गलाई यथाशीघ्र समावेश गर्नुपर्ने माग रहेको द.वा.पी. सङ्घर्ष समितिका संयोजक गोपाल प्रकाश सुनारले बताउनु भयो ।

धर्नामा बसेकाहरूले पिछडिएको समुदाय उत्थान विकास समितिलाई सक्रिय गर, उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समिति सक्रिय गर, हाम्रो माग पूरा गर सहितका प्लेकार्ड बोकेर धर्ना दिएका हुन् ।