२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

धानखेतीको तालिका बदलिँदैः अब जेठमै पाक्छ धान



अ+ अ-
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–६ कसरौलका किसान रामसिकन राना अहिले चैते धान काट्ने तयारीमा हुनुहुन्छ । अधिकांश किसानले वर्षमा एक पटक मात्र धान रोप्ने गरेका छन्, तर रानाले चैते र बर्खे गरेर वर्षमा दुई पटक धानखेती गर्दै आउनु भएको छ । डेढ बिघा खेतमा उहाँले ‘चैते–५’ जातको धान रोप्नुभएको छ । रानाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत उहाँले बीउ, मल र सिँचाइमा ८५ प्रतिशत अनुदान पाउनुभएको छ ।
कृषि प्राविधिकको सल्लाहअनुसार खेती गरेकाले रोग–कीराको समस्या देखिएको छैन । “चैते  धान पाक्नै लागेको छ”, उहाँले भन्नुभयो, “एक दुई दिनमा चैते धान काटेर वर्षे धानको रोपाइँ गर्ने सुरसारमा छौँ, वर्खे धान जस्तो चैते धानमा रोग कीराको समस्या छैन, उत्पादन पनि सोचेभन्दा बढी नै हुनेमा विश्वस्त छौँ ।” लगातार वर्षा हुन थालेकाले खेतमा काटेको चैते धान थन्क्याउने र थ्रेसिङ गर्ने पिरलो भने उहाँलाई छ ।
परियोजना अन्तर्गत कञ्चनपुरमा यस वर्ष ५४ हेक्टरमा चैते धानखेती गरिएको छ । विगतको तुलनामा चैते धानखेती गर्ने किसानको सङ्ख्या बढेको कृषि अधिकृत सञ्जु उपाध्याय रिमालले बताउनुभयो । उहाँका अनुसार चैते धान माघमा बीउ राखी फागुनदेखि चैतको पहिलो सातासम्म रोपिन्छ र १२० दिनभित्र पाकेर असारको सुरुवातमा कटनीका लागि तयार हुन्छ ।
कृषि ज्ञान केन्द्रका अधिकृत जागृत खनालका अनुसार सीमसारयुक्त र डुबानग्रस्त खेतमा चैते धान उपयुक्त मानिन्छ । विशेषगरी बेलडाँडीलगायत डुबान हुने ठाउँका किसानका लागि यो वैकल्पिक बालीका रूपमा देखिएको छ । यस वर्ष कञ्चनपुरमा कूल २६० हेक्टर क्षेत्रमा चैते धानखेती भएको छ । त्यसमा कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि परियोजना, पालिकाको अनुदान र किसानको लगानी समावेश छ । चैते धानप्रति हेक्टर चार दशमलव छ मेट्रिकटन उत्पादन हुने गरेको छ ।
महाकाली सिँचाइको कमाण्ड एरियाका किसानले थोरै लागतमा चैते धानखेती गर्दै आएका छन् । भूमिगत सिँचाइ९पम्पसेट, स्यालो ट्युबेल, डिप ट्युबेल० लगायतको सहायताले सिँचाइ गर्ने किसानको लागत खर्च भने बढी लाग्ने गरेको छ । बाली विकास अधिकृत खनालका अनुसार पुनर्वास नगरपालिकामा चालु आवमा चैते धानखेतीलाई प्रवद्र्धन गर्नका लाागि कार्यक्रम सञ्चालन गरिएको छ ।
सो अन्तर्गत किसानलाई साना सिँचाइ, उन्नत बीउबिजन, कृषि औजार, उपकरण लगायतमा अनुदान दिइएको छ । त्यस अन्तर्गत नगरपालिका क्षेत्रमा २४ हेक्टर क्षेत्रफलमा चैते धानखेती गरिएको छ । जिल्लाको सिँचाइ सुविधा उपलब्ध भएका पुर्नवास, बेलौरी, भीमदत्त, शुक्लाफाँटा नगरपालिका र बेलडाँडी गाउँपालिकाका किसानले चैते धानखेती गर्दै आएका छन् । कृष्णपुर नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका केही किसानले फाट्टफुट्ट रुपमा चैते धानखेती गर्दै आएका छन् ।
कृषि ज्ञान केन्द्रको अनुदानमा मात्रै जिल्लामा एक सय ५० हेक्टर क्षेत्रफलमा चैते धानखेती हुदै आएको छ । किसानले उत्पादन गरेको चैते धानको बजारमा लागतअनुसार मूल्य नपाउने गरेको गुनासो गरेका छन् । उत्पादित चैते धान चिउरा र भुजा बनाउनका लागि बढी प्रयोग हुने गरेको छ । चैते धानखेती गर्ने किसालाई भने छाडा चौपायाबाट बाली जोगाउनका लागि खेतमै पहरा दिनुपर्ने बाध्यता छ । चैते धानमा रोग प्रतिरोधी क्षमता हुने भएकाले मौसमी असरमा पनि किसानले सोचेभन्दा बढी उत्पादन दिने कृषि प्राविधिकको भनाइ छ ।
शुक्लाफाँटा नगरपालिकाका कृषि विकास शाखाका प्रमुख करनसिंह बुढाऐर एकै वर्षमा वर्खे र चैते धानखेती गरी किसानले दुई पटक धान उत्पादन लिन थालेको बताउनुहुन्छ । “धानको उत्पादन बढेसँगै किसानको वार्षिक आम्दानी दोब्बरले बढेको छ”, उहाँले भन्नुभयो, “गहुँ बाली तथा तरकारी बाली लगाएर खाली हुने खेतको सदुपयोग भएको छ, देशको खाद्य भण्डार बढाउने कार्यसँगै आपतकालीन अवस्थामा खाद्य आपूर्तिका लागि चैते धानखेती सहयोगी रहेको छ ।” रासस