काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आगामी साउन तेस्रो साता भारत भ्रमणमा जाने तय भएको छ । प्रधानमन्त्री बनेको एक वर्ष पुगेपछि मात्रै भारत भ्रमणको मिति जुरेको हो ।
प्रधानमन्त्री ओली सम्भवत: साउन १४ गतेदेखि १९ गतेसम्म भारत भ्रमणमा जाने निश्चित जस्तै भएको परराष्ट्र मन्त्रालयले स्रोतले जनाएको छ ।
गत मंसिर १७ देखि २० गतेसम्म उत्तरी छिमेकी चीनको औपचारिक भ्रमण गरे पनि प्रधानमन्त्री ओलीका लागि भारतीय प्रधानमन्त्री मोदीसँगको ‘असहज’ सम्बन्धका कारण दिल्ली भ्रमणको चाँजोपाँजो मिलाउन कठिन हुँदै आएको थियो । तर अहिले सम्बन्धमा केही सुधार आएसँगै भारत भ्रमण गर्ने तय भएको हो ।
प्रधानमन्त्री ओली भारत जानु अघि स्पेन भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँले यही असार १५ गतेदेखि २० गतेसम्म स्पेन जानु हुनेछ । त्यहाँबाट फर्किएपछि भारत भ्रमण जानुहुनेछ ।
गत ३१ असारमा प्रधानमन्त्री भएयता ओलीले भारत भ्रमणमा जान निरन्तर प्रयास गर्दै आउनुभएको छ । तर, भारतीय पक्षले चासो नदेखाउँदा प्रधानमन्त्री ओलीको दिल्ली भ्रमणको साइत जुर्न सकेको थिएन ।
प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबिच थाइल्यान्डको बैंककमा २२ चैतमा भेटवार्ता भएको थियो । बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन गएका दुवै प्रधानमन्त्रीबिच एक्लाएक्लै भेट भएको थियो, जहाँ मोदीले ओलीलाई भारत भ्रमणमा आउन भनेको दाबी गरिएको थियो । स्वदेश फर्केलगत्तै ओलीले आफू भारत भ्रमणमा जाने बताउनुभएको थियो ।










