३ श्रावण २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैकल्पिक राजनीतिक शक्ति बन्न आतुर तर बाटोभरी काँडा



अ+ अ-

काठमाडौं । वैकल्पिक राजनीति शक्तिको रुपमा उदय हुने उद्घोष र अठोटसहित राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएको तीन वर्ष पूरा भएको छ । तेस्रो स्थापना दिवसका अवसरमा पार्टीको स्थापना, विस्तार र सुदृढीकरणमा निरन्तर लाग्ने सबैप्रति रास्वपाले बधाइ तथा शुभकामना व्यक्त गरेको छ ।

रास्वपाले ‘लुटतन्त्रको खारेजी एवं सुसंस्कृत राजनीतिको संवद्र्धनका लागि सडक र संसदमा’ भन्ने मूल नारासहित देशव्यापी अभियान सञ्चालन गरी पार्टीको तेस्रो स्थापना दिवस मनाउँदै छ । तर पार्टीका संस्थापक सभापति रवि लामिछाने कुनै पनि कार्यक्रममा देखिनुहुने छैन । किनकी उहाँ सहकारी ठगी मुद्दाको आरोपमा पुर्पक्षका लागि जेलमा हुनुहुन्छ । विभिन्न सहकारीको बचत रकम हिनामिना गरेको आरोपमा उहाँविरुद्ध ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा लागेको छ ।

स्थापनाको पहिलो वर्षमै संघीय संसद्मा चौथो राजनीतिक शक्तिका रुपमा उदाएको रास्वपाले जनताका एजेन्डालाई उठाउने गरेको छ । अहिले सभापति लामिछाने जेलभित्र रहे पनि संसद्मा रास्वपाका सांसदहरुको भूमिका निकै प्रभावकारी छ । उनीहरुले सरकारलाई खबरदारी मात्र गरेका छैनन्, आफ्नो जिम्मेवारीसमेत पूरा गरिरहेका छन् । संसद्मा भएका हरेक गतिविधिमा रास्वपाका सांसदहरुको खरो प्रस्तुतिले जनतालाई लोभ्याइरहेको छ ।

तीन वर्षअघि आम नागरिकको निराशा, आक्रोश र परिवर्तनको तीव्र आकांक्षालाई राजनीतिक आकार दिँदै रास्वपाको स्थापना भएको थियो । तेस्रो स्थापना दिवस मनाइरहँदा केही जटिल र चुनौतीपूर्ण परिस्थितिको सामना गरिरहेको रास्वपाले अझै अघि बढ्ने बाटो खोजिरहेको छ । जनतालाई विश्वासमा लिएर उसले आगामी निर्वाचनमा जित हात पार्ने लक्ष्य राखेको छ ।

परिवर्तनका पक्षधर शक्तिलाई कमजोर बनाउन राज्य संयन्त्रको दुरुपयोग गरी सभापति रवि लामिछानेविरुद्ध अनेकौं मुद्दा लगाइएको आरोप रास्वपाको छ । कानुनी लडाइँलाई सशक्त बनाउँदै सुनियोजित षड्यन्त्रको जनस्तरबाट समेत प्रतिवाद गर्ने प्रयासमा रास्वपा छ ।

रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले दशकौंदेखि देशमा जरा गाडेको दलतन्त्रको सिण्डिकेटले सिर्जना गरेका विकृति–विसंगतिको भण्डाफोर अभियानमा रास्वपाले चलाइरहेको बताउनुभयो । विधिको शासन र जनमैत्री सेवकको नीतिको अक्षरश: कार्यान्वयनले मात्रै विद्यमानको निराशा र आक्रोश अन्त्य गर्नेछ भन्नेमा रास्वपा दृढ रहेको छ ।

रास्वपाले आफ्नो बाटोमा स्पष्ट रहेको दाबी गरिरहे पनि सभापछि लामिछानेलाई अनेकौं मुद्दा लागेका छन् । अहिले पुर्पक्षमै रहेर उहाँले काठमाडौँ, चितवन, कास्की, रुपन्देही र पर्सा जिल्ला अदालतमा मुद्दा लडिरहनुभएको छ । अहिले सिङ्गो पार्टी नै सभापति रविको रिहाइको लागि लड्दा पार्टीको राजनीतिक र सांगठनिक काम प्रभावित भएको छ । यद्यपि रास्वपाका नेताहरूले रविमाथि सत्ता र शक्तिको आडमा षड्यन्त्रपूर्वक राजनीतिक प्रतिशोध साँधिएको आरोप लगाएका छन् ।

स्थापनाको तीन वर्षमा नीतिगत सुधार र सुशासनको पक्षमा रास्वपाले राम्रो काम गरेको छ । आम जनताको मायाले पार्टी स्थापना भएको ६ महिनामै चौथो ठुलो पार्टी बन्न सफल भयो । यस पछाडि हामीले उठाएका मुद्दा, सरकारमा रहँदा सुशासनको पक्षमा उठाएका कारणले अहिले जुन खालको बहस र पैरवी भइराखेको छ । रास्वपाको भूमिका मुख्य रह्यो ।

तर नयाँ र वैकल्पिक शक्तिको नेतृत्व लिएर आएका रवि तीन वर्षमा एकपछि अर्को मुद्दामामिला र झमेलामा फस्दै गएपछि रास्वपाका बाटोमा काँडा रोपिएका छन् । ती काँडा छल्दै नेतृत्व कसरी अगाडि बढ्छ उसको भविष्य पनि त्यसैमा निर्भर हुने छ ।