९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक

प्रभावकारी बन्दै कृषक पाठशाला : विषादी औषधि होइन भन्ने वास्तविकता बुझ्दै किसान

प्रभावकारी बन्दै कृषक पाठशाला : विषादी औषधि होइन भन्ने वास्तविकता बुझ्दै किसान
अ अ+ अ-

बेनी, (म्याग्दी) । बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापामगर करेसाबारीमा कुटो, कोदालो र कापीकलम एकैसाथ बोकेर पस्नुहुन्छ । सामान्यतया खेतबारीमा घरेलु औजार बोकेर काम गर्न जाने प्रचलन रहे पनि थापा भने कृषिखेतीको सिकाइका लागि घरेलु कृषि औजारसँगै सिकेका कुरा टिपोट गर्न कापीकलम बोकेर खेतबारीमा पुग्न थाल्नुभएको हो ।

गत पुसदेखि आनन्दबगरका २५ जनाले थापाले जस्तै गरी कृषि पढिरहेका छन् । बेनी नगरपालिकाले किसानलाई प्राङ्गारिक उत्पादनको ज्ञान, सीप र क्षमताको विकास गर्न एकीकृत शत्रुजीव व्यवस्थापन (आइपीएम) कृषक पाठशाला सञ्चालन गरेपछि यहाँका किसान साप्ताहिक रूपमा खेतबारीमा सञ्चालन हुने पाठशालामा पढ्न पुग्छन् ।

आनन्दबगर आइपिएपम कृषक पाठशालामा आबद्ध सदस्यले सामूहिक रूपमा गोँलभेडाखेती गरेका छन् । व्यावहारिक रूपमा उचित बीउको छनोट, नर्सरी र खेती गर्ने जमिनको व्यवस्थापन, बाली लगाउने तरिका, मलजल, गोडमेल र फल उत्पादन भएपछि टिप्नेसम्मका ज्ञान, सीप पाठशालामा सिकाउने गरिएको छ । पाठशालामा बीउ जमाउने र बिरुवा लगाउनेदेखि फल टिप्नेसम्मका ज्ञानका साथै रोगकीराको स्थानीय उपचारका बारेमा सैद्धान्तिक र व्यावहारिक ज्ञान सिक्ने अवसर मिलेको स्थानीय किसान सरिता बानियाँ खड्काले बताउनुभयो ।

“खेती गर्ने आधारभूत सीप सिक्नका लागि आइपिएम कृषक पाठशाला निकै प्रभावकारी भयो, रोगकीराको पहिचान र उपचारको तरिका र उपायसमेत सिक्यौँ”, बानियाँले भन्नुभयो । यहाँका किसानलाई टनेल र खुला ठाउँमा गोँलभेडाखेती गर्न व्यावहारिक रूपमा तालिम दिइएको छ । पुसदेखि सुरू भएको पाठशालामा किसानले सामूहिक रूपमा लगाएको गोँलभेडा अहिले उपभोगयोग्य भएको छ । उत्पादन भएको गोँलभेडा पाठशालामा सहभागी किसानले बाँडेर उपभोग गर्ने र धेरै उत्पादन भएमा बिक्री गर्ने लक्ष्य लिइएको छ ।

बेनी नगरपालिका–४ डाँडाखेतको गोँलभेडाखेतीमा पनि आइपिएम कृषक पाठशाला सञ्चालन भइरहेको छ । यहाँका किसानले पनि तालिममा सिक्दै सामूहिक रूपमा लगाएको गाँेलभेडा अहिले लटरम्म फलेका छन् । खेती गर्ने प्रविधि आधुनिक र रोगकीराको उपचार गर्न अग्र्यानिक विधिबारे जानकारी पाएपछि यहाँका किसान उत्साहित भएका छन् । एउटा बाली विशेषमा किसानलाई निपूर्ण बनाउन आइपिएम कृषक पाठशाला सञ्चालन गरिएको हो । खेतबारीमा सञ्चालन हुने पाठशालामा किसानको हातबाट बीउ जमाउन तथा बिरुवा रोप्न लगाउने र उनीहरूकै हातबाट गोडमेल र स्याहार गरेर फलेको फललाई उपभोग र बजारीकरणसम्मको काम हुने भएकाले यो पाठशाला निकै उपयोगी बन्दै गएको छ ।

बेनी नगरपालिकाले यस वर्ष वडा नं १ आनन्दबगरमा गोँलभेडा, २ गौश्वारामा काउली, ३ भकिम्लीमा अकबरे खुर्सानी, ४ डाँडाखेतमा गोँलभेडा, ६ डम्मरामा कोसेबाली सिमी, ५ पुलाचौर र ९ घतानमा आलुखेतीमा आइपिएम कृषक पाठशाला सञ्चालन गरेको छ । हरेक बालीमा १८ देखि २२ हप्तासम्म किसानलाई खेतबारीमा व्यावहारिक र सैद्धान्तिक ज्ञान प्रदान गरिएको बेनी नगरपालिकाका कृषि अधिकृत आकृति ढुङ्गानाले बताउनुभयो । “पाठशालामा सहजकर्ताले विषादीरहित उत्पादन गर्न र खेतीबालीमा जैविक मलको प्रयोग बढाउन किसानलाई सिकाउनुभएको छ, नगरपालिकाले आइपिएम कृषक पाठशालालाई हरेक वर्ष फरकफरक ठाउँमा निरन्तरता दिँदै आएको छ, किसानलाई दक्ष बनाएर स्वस्थ बालीको उत्पादन गर्न यो कार्यक्रमले प्रेरित गर्ने अपेक्षा गरेका छौँ”, कृषि अधिकृत ढुङ्गानाले भन्नुभयो ।

आइपिएम कृषक पाठशाला सञ्चालनका लागि नगरपालिकाले हरेक समूहका लागि रु एक लाख ५० हजारका दरले बजेट विनियोजन गरेको छ । बेनी नगरपालिकाको आइपिएम कृषक पाठशालामा जिल्लाकै अगुवा किसान सोवित शर्मा, क्षेत्रबहादुर कटुवाल र हरिराम पौडेलले सहजकर्ताका रूपमा काम गर्नुभएको छ । हरेक समूहमा साताको एक दिन दैनिक चार घण्टा पाठशाला सञ्चालन हुने गर्छ ।

पाठशालामा स्थानीयस्तरमा उपलब्ध प्राङ्गारिक मल, गाईभैँसीको मूत्र र जैविक विषादीको प्रयोगबाट रोगकीरा व्यवस्थापन गर्न व्यावहारिक अभ्याससमेत गराउने गरिएको छ । पाठशालामा तरकारीखेतीसँगै धान, मकै, गहुँलगायत खाद्यबाली, सुन्तला, कागतीलगायत फलफूलमा आइपर्ने समस्या र रोगकीरा व्यवस्थापनमा जैविक विषादीको प्रयोगको सम्बन्धमा समेत किसानलाई सिकाइएको छ ।

रोगकिराको उपचारमा प्राङ्गाारिक विधि प्रभावकारी

बेनी नगरपालिका–६ डम्मराका किसानले खेतीबालीमा लाग्ने रोगकीराको उपचारमा रैथाने सीप र विधिलाई प्रयोगमा ल्याउन थालेका छन् । पाठशालामा व्यावहारिक ज्ञान, सीपको क्षमता विकास गरेर किसानले खेतीबालीमा लाग्ने रोगकीराको उपचारमा स्थानीय वानस्पतिक विषादी बनाएर प्रयोगमा ल्याएका हुन् ।

पाठशाला सञ्चालनको लागि करिब एक रोपनी क्षेत्रफलमा गरिएको कोसेबालीमा देखिएका रोगकीराको समस्या समाधान गर्न प्याजको पात, केतुकी, पाती, असुरोलगायतका तितो, पिरो, टर्रो र अमिलो हुने प्रजातिका वनस्पति र वस्तुभाउको मूत्रबाट जैविक विषादी बनाएर प्रयोग गरिएको स्थानीय झरना थापाले बताउनुभयो ।

‘‘पहिले खेतीबालीमा केही समस्या भए बजारबाट विषादी किनेर ल्याउने गथ्र्यौँ, अहिले सिमीमा लागेको रोगकीरामा वानस्पतिक झोलको प्रयोग गर्यौँ, समस्या पनि हल भयो, नगद खर्च पनि भएन”, उहाँले भन्नुभयो । वानस्पतिक विषादीको प्रयोगले कृषि उपजसमेत स्वस्थकर हुने गर्छ । पाठशाला सञ्चालनपछि गाउँघरका स्रोत र साधनलाई प्रयोग गरेर कृषिको उत्पादन बढाउने र रोगकीराको पहिचान गरेर उपचार गर्ने ज्ञान सीप हासिल भएको तालिममा सहभागी स्थानीय किसान पशुपति भण्डारी खत्रीले बताउनुभयो ।

हरेक साताको बिहीबार चार–चार घण्टाको दरले डम्मरा माझखेत कृषक पाठशाला सञ्चालन हुँदै आएको छ । तालिममा सिमी र बोडीसँगै आलुलगायत खेती र अन्नबालीको बीउ लगाउनेदेखि फल उत्पादनसम्मका सिकाइ भएको स्थानीय कमला परियारले जानकारी दिनुभयो । किसानलाई व्यावहारिक सिकाइका लागि लगाइएको भट्टेसिमी, एसनाइन सिमी, हाइब्रिड सिमी, मिटरबोडी, मालेपाटन बोडीखेती गरिएको छ । सिमी र बोडी उत्पादन भएपछि किसानले घरायसी प्रयोगदेखि बिक्री गरेर आम्दानी गर्न थालेका छन् ।

रासायनिक विषादी : बिख हो, औषधि होइन

बेनी नगरपालिकाले पाठशालामा किसानलाई बीउ र जग्गाको छनोटदेखि प्राङ्गारिक बाली उत्पादनमा लाग्ने सीप र ज्ञान आर्जन गर्ने थलो बनेको छ । पछिल्लो समय खेतीबालीमा आउने रोगकीराको उपचारमा सहरबजारमा पाइने रासायनिक विषादीको प्रयोग बढिरहेको र त्यसले किसानदेखि उपभोग गर्ने नागरिकको जनस्वास्थ्यमा ठूलो समस्या ल्याइरहेको सन्दर्भमा आइपिएम कृषक पाठशालामा प्राङ्गारिक खेतीलाई जोड दिने गरिएको सहजकर्ता सोवित शर्माले बताउनुभयो ।

“खेतीबालीको रोगकीराको उपचारका लागि बजारमा पाइने विषादी बिख हो, औषधि होइन भन्ने बुझाइ किसानमा बनाउन पाठशालाले निकै भूमिका खेलेको छ, हामीले किसानलाई रोगकीराको पहिचान गरेर स्थानीयस्तरमा बनाउन सकिने जैविक विषादीको प्रयोगका लागि प्रेरित गरेका छौँ, स्वस्थ कृषि उपजले मात्र स्वस्थ नागरिक बन्न सघाउने कुरा बुझाएका छौँ”, सहजकर्ता शर्माले भन्नुभयो ।

बजारमा अहिले बाहिरबाट आयात गरिएका तरकारी र फलफूलमा प्रतिबन्धित विषादीको प्रयोग गर्ने गरिएको र त्यसले मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउने गरेको छ । खेतीबालीमा रोगकीराको महामारी आएको सन्दर्भमा मात्र सुरक्षितजन्य विषादीको प्रयोग गर्ने र प्रयोग गरेपछि कृषि उपजको तत्काल उपभोग नगर्ने सन्दर्भमा समेत किसानलाई जानकारी गराइएको अर्का सहजकर्ता क्षेत्रबहादुर कटुवालले बताउनुभयो ।

उहाँले पाठशालामा किसानलाई जैविक विषादी बनाउने प्रयोगात्मक सीप सिकाइएकाले नगरपालिका क्षेत्रमा प्राङ्गारिक कृषि उत्पादनको लहर ल्याउन पाठशालाले भूमिका खेल्ने अपेक्षा गरिएको बताउनुभयो । किसानलाई कोठाभित्र दिने तालिम औपचारिकतामा सीमित बनिरहेको सन्दर्भमा खेतबारीलाई नै पाठशाला बनाएर सञ्चालन गरिने आइपिएम कृषक पाठशाला किसानलाई व्यावहारिक ज्ञान र सीप विकास गर्ने उपयुक्त थलो बन्न थालेको छ । रासस