९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट

खल्लागोठवासीका लागि नदी नै जीवन, नदी नै पीडा

खल्लागोठवासीका लागि नदी नै जीवन, नदी नै पीडा
अ अ+ अ-

कञ्चनपुर । गाउँ नजिकैको चुरे पर्वतमा सूर्य नउदाउँदै कृष्णपुर नगरपालिका–२ खल्लागोठका भीम गिरी श्रीमतीसँगै दोदा (मछेली) नदीको बगरमा पुगिसकेका हुन्छन् ।

हातमा फरुवा, गैँटी, कोदालो बोकेर नदीमा पुग्ने गिरी दम्पती बालुवा, गिट्टी निकाल्दै तारजालीमा छान्ने कार्य गर्नुहुन्छ । बालुवा एकातर्फ र गिट्टी अर्कातर्फ निकालेर थुप्रो लगाउनुहुन्छ । गिरी दम्पतीको यो कार्य झमक्क साँझ नपर्दासम्म जारी रहन्छ । दिउँसपख खाना खानका लागि दुई घण्टाको विश्राम मात्र गिरी दम्पतीले लिने गरेका छन् । एक दशकदेखि नदीको बालुवा र गिट्टी चाल्दै बेच्दै गर्ने कार्यले गिरी परिवारको जीविका चल्दै आएको छ ।

उहाँ भन्नुहुन्छ, “नदी नै एकमात्र बाँच्ने आधार हो, यसबाटै जीविका चलेको छ, पहिले भारत जान्थेँ, थोरै तलबले परिवारको गुजारा चलाउन मुस्किल हुन्थ्यो, बालुवा चाल्न थालेपछि भारत जान छाडे, अहिले थोरै कमाउँछु, तर परिवारसँगको सुखदु:खमा साथमा छु ।” चारपाँच दिनमा एक ट्रली बालुवा त्यही परिणामा गिट्टी सङ्कलन हुँदा रु दुई हजारदेखि रु तीन हजारसम्म कमाइ हुने गरेको उहाँ बताउनुहुन्छ । महिनामा रु १२ देखि रु १५ हजारसम्मको कमाइ हुने गरेको छ ।

गिरी दम्पतीसँग गाउँमा घरबाससँगै थोरै कमाइखाने जग्गा पनि छ । त्यो जग्गामा लगाएको अन्नले छ महिना पनि धान्दैन । बालुवा, गिट्टी बेचेर आएको कमाइले घरको नुनतेल, लत्ताकपडा र अन्नको जोहो मिलाउनुहुन्छ । भीमजस्तै खल्लागोठ गाउँका कृष्ण नाथ पनि दुई दशकदेखि नदीमा बालुवा, गिट्टी चाल्दै आउनुभएको छ । बिहान बालुवा चाल्दै सुरु हुने दैनिकी बेलुका थकाइसँगै बन्द हुने गरेको उहाँ बताउनुहुन्छ ।

आठ जनाको परिवारको खर्च बालुवा, गिट्टी बेचेरै चल्दै आएको छ । “बालबालिका छाडेर घरका अरु सबै जना बालुवा, गिट्टी चाल्ने कार्य गर्छौँ, महिनामा रु २०–२५ हजार जति कमाइ हुन्छ, त्यही रकमबाट घरायसी खर्च धान्ने गर्दर्छौँ”, उहाँले भन्नुभयो ।

नदीमा ठेक्का छिटो खुलेपछि धेरै दिनसम्म बालुवा, गिट्टी चाल्न पाइने गरेको उल्लेख गर्दै उहाँले ढिलो गरी ठेक्का खुले बालुवा, गिट्टी चाल्ने कार्य नहुँदा मजदुरी खोज्दै हिँड्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।

नदीमा असोजदेखि जेठ मसान्तसम्म खल्लागोठका बासिन्दाले बालुवा, गिट्टी चालेर बिक्री गर्दै आएका छन् । असारदेखि भदौसम्मको बर्खायाममा नदीजन्य पदार्थ सङ्कलन उत्खनन गर्न नपाइने भएकाले काम खोज्दै हिँड्नुपर्ने अवस्था रहेको न्यौटी नाथले बताउनुभयो । खल्लागोठ गाउँमा ९० परिवारको बसोबास छ ।

गाउँका अधिकांश परिवारले गिट्टी, बालुवा चालेरै जीविका चलाउने गर्नुहुन्छ । गाउँका बासिन्दासँग थोरैमात्र जग्गा छ । त्यो पनि उब्जाउ नहुँदा बाध्यताले नदीमा बालुवा चाल्नुपरेको उहाँ बताउनुहुन्छ । जुन बालुवाले जीवन दियो, त्यसैले कहिलेकाहीँ ज्यानको जोखिम पनि ल्याएर आउने धनबहादुर विक बताउनुहुन्छ ।

“असारदेखि नै पानी दर्किन सुरू भएपछि नदीको बाढी गाउँभित्र पस्ने भएकाले तीन महिना अवधि त्रासमा बाँच्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “नदीजन्य पदार्थ उत्खननको प्रत्येक वर्ष ठेक्का लाग्ने भएकाले त्यसको केही हिस्सा नदी नियन्त्रणका लागि बलियो तटबन्ध बनाउनमा खर्च गर्नुपर्ने हो, त्यसका लागि आवाज उठाउँदै आए पनि सुनवाइ हुँदैन ।”

उहाँका अनुसार सो गाउँका ४५ घर बाढीको जोखिममा छन् । खल्लागोठका स्थानीय बासिन्दा नदी र बस्तीलाई असर नपर्ने गरी बालुवा, गिट्टी उत्खनन गर्दै आएको बताउनुहुन्छ । स्थानीय भन्छन्, “नदीलाई शत्रु होइन, सहयात्री ठान्छौँ, यसले जीवन जिउने आधार दिएको छ ।” पहिला पहाडबाट तराई झर्नेहरूले खल्ला (पानी जम्ने ठाउँ)मा गोठ राख्ने भएकाले त्यस ठाउँलाई पछि खल्लागोठ भन्ने गरिएको गाउँका बासिन्दा बताउँछन् । गाउँका केही बासिन्दाले बालुवा चाल्ने कार्यसँगै नजिकै वन क्षेत्र भएकाले बाख्रापालनको काम गरी अतिरिक्त आम्दानी गर्दै आएका छन् । रासस