न्यूजपोलार ए.आई.
- अमेरिकाले नेपालमा सञ्चालित एमसीसी परियोजनालाई निरन्तरता दिने
- एमसीसी ७५ अर्ब रुपैयाँ (५५ करोड अमेरिकी डलर) अनुदानमा सञ्चालन भइरहेको परियोजना
- विज्ञप्तिमा स्पष्ट रुपमा एमसीसीले निरन्तरता पाउने नभने पनि सकारात्मक संकेत
काठमाडौं । संयुक्त राज्य अमेरिकाले नेपालमा सञ्चालित एमसीसी परियोजनालाई निरन्तरता दिने भएको छ । एमसीसी ७५ अर्ब रुपैयाँ (५५ करोड अमेरिकी डलर) अनुदानमा सञ्चालन भइरहेको परियोजना हो ।
यसअघि गत वैशाखमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गठन गरेको डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी (डोज)ले एमसीसी नै खारेज गर्ने तयारी गरेको समाचार बाहिरिएपछि नेपाल कम्प्याक्ट निरन्तर हुने नहुनेमा अन्योल छाएको थियो ।
तर, अमेरिकाले वैदेशिक सहायताबारे पुन:मूल्यांकन गरिरहेकै अवस्थामा गत मार्चमा एमसीसीले नेपाललाई पत्र लेखी केही महत्वपूर्ण खरिद तथा कार्यालय सञ्चालन सम्बन्धी आवश्यक कार्यहरू गर्न अनुमति दिएकोमा त्यो कार्यले निरन्तरता पाई नै रहेको छ ।
एमसीसी सहयोगका विषयमा नेपालस्थित अमेरिकी दूतावासले बुधबार जारी गरेको विज्ञप्तिमा स्पष्ट रुपमा एमसीसीले निरन्तरता पाउने नभने पनि सकारात्मक संकेत भने गरेको छ ।
‘फेब्रुअरी २०२५ मा अमेरिकी विदेशमन्त्रीले वैदेशिक सहायता सम्बन्धी समिक्षा चलिरहेकै बेला लागु गरिएको ९०-दिने रोकमा एमसिसी नेपाल कम्प्याक्टका लागि विशेष अपवाद प्रदान गर्दै एमसिसिको निरन्तर कार्यान्वयनलाई स्वीकृति दिनुभएको थियो। यस अपवादले एमसिसी नेपाल कम्प्याक्टको कार्यान्वयनलाई समिक्षा अवधिमा पनि निरन्तर अगाडि बढाउन स्वीकृत प्रदान गरेको छ। एमसिसी र नेपालस्थित अमेरिकी दूतावास सरोकारवालासँग सहकार्य र संवाद गर्दै यस समिक्षाको सकारात्मक परिणामका लागि प्रयत्नरत छन्।
एमसिसीले नेपाल सरकारको अर्थ मन्त्रालय र एमसिए-नेपाल सँग निकट सहकार्य गर्दै कम्प्याक्ट अन्तर्गत गरिएका वा सुरु गर्न लागिएका गतिविधिहरू (सम्भावित नयाँ प्रतिबद्धतासहित) संयुक्त राज्य अमेरिका र नेपाल सरकारका प्राथमिकतासँग मेल खाने, पारदर्शिता, सुशासन, प्रभावकारी कार्यान्वयन र जोखिम व्यवस्थापन सुनिश्चित गर्ने गरी अगाडि बढाइरहेको छ।
संयुक्त राज्य अमेरिका नेपालसँगको द्विपक्षीय सम्बन्ध र नेपाली जनताको समृद्धि तथा दीर्घकालीन आर्थिक वृद्धि प्रवर्द्धन गर्ने प्रयासप्रति प्रतिबद्ध छ। ’ दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।










