१५ असार २०८३, सोमबार
,
Latest
ढिलो मनसुनपछि लुम्बिनीमा धान रोपाइँले लियो गति, २०.५ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न रुसको सेन्ट पिटर्सबर्गमा भव्यताका साथ मनाइयो ‘स्कार्लेट सेल्स’ महोत्सव युरोपमा प्रचण्ड गर्मीको लहरः जलवायु परिवर्तनका कारण जनजीवन प्रभावित चीनको सिचुआनमा ५.५ म्याग्निच्युडको भूकम्पः १३ जना घाइते ८९ अंकसहित भरतपुर अस्पताल उत्कृष्ट जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यकः राष्ट्रपति यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो थारु समुदायको परम्परा संरक्षण गर्न लुम्बिनीमा विधेयक आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेता शास्त्रीको निधनमा कांग्रेसले तीनदिन शोक मनाउने



अ+ अ-

न्यूजपोलार ए.आई.

  • नेपाली कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं समाजवादी चिन्तक ढुण्डिराज शास्त्रीको निधनप्रति दुःख व्यक्त गर्दै तीनदिन शोक मनाउने निर्णय गरेको छ ।
  • विद्यार्थी जीवनदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आउनुभएका स्व शास्त्रीले प्रजातन्त्र पुनःस्थापनाको सङ्घर्ष र आन्दोलनका क्रममा जेल जीवन र लामो समय भारत प्रवासमा जीवन बिताउनुभएको थियो ।
  • आजै पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा नेता शास्त्रीको पार्थिव शरीरमा माल्यार्पण गर्दै पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।

 

 

 

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं समाजवादी चिन्तक ढुण्डिराज शास्त्रीको निधनप्रति दुःख व्यक्त गर्दै तीनदिन शोक मनाउने निर्णय गरेको छ ।

कांग्रेसको आज बसेको आकस्मिक केन्द्रीय कार्यसमिति बैठकले उहाँको निधनमा शोक प्रस्ताव पारित गर्दै यही असार ४, ५ र ६ गते तीनदिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

बैठकले असार ५ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३औँ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र स्वर्गारोहणको १३औँ दिनमा सम्बन्धित जिल्लामा शोकसभा आयोजना गर्ने निर्णय गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

नेता शास्त्रीको काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा ८९ वर्षको उमेरमा यही असार २ गते निधन भएको हो । बैठकमा नेता शास्त्रीको आत्माको चीरशान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरिएको उहाँले बताउनुभयो ।

विद्यार्थी जीवनदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आउनुभएका स्व शास्त्रीले प्रजातन्त्र पुनःस्थापनाको सङ्घर्ष र आन्दोलनका क्रममा जेल जीवन र लामो समय भारत प्रवासमा जीवन बिताउनुभएको थियो ।

स्व शास्त्री जननायक बिपी कोइरालाका अनुयायी, समाजवादी चिन्तक र प्रजातान्त्रिक समाजवादका व्याख्यातासमेत हुनुहुन्थ्यो । अर्घाखाँचीको किमडाँडामा विसं १९९३ जेठ २५ गते जन्मनुभएका स्व शास्त्री पटकपटक पार्टीको केन्द्रीय सदस्य हुनुका साथै विसं २०४८ र विसं २०५१ को आमनिर्वाचनमा अर्घाखाँची जिल्ला निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

नेता शास्त्रीको राष्ट्रियता, प्रजातन्त्र र समाजवादप्रतिको निष्ठा, अटल आस्था र समर्पणप्रति कांग्रेसले उच्च सम्मान प्रकट गरेको छ । उहाँको निधनबाट कांग्रेसले एक वौद्धिक, अग्रज र अनुभवी राजनीतिज्ञलाई गुमाएको मुख्यसचिव पौडेलले उल्लेख गर्नुभयो ।

कांग्रेसको सङ्गठन निर्माण र सुदृढीकरणमा पुर्याउनुभएको योगदान, प्रजातन्त्रप्रतिको प्रतिबद्धता, समाजवादी विचारको प्रवर्द्धन तथा पार्टीका विभिन्न महत्त्वपूर्ण पदीय जिम्मेवारीमा रहेर उहाँले निर्वाह गर्नुभएको नेतत्वदायी भूमिका पार्टीको इतिहासमा सदा स्मरणीय रहने पार्टी कार्यालयले जनाएको छ ।

आजै पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा नेता शास्त्रीको पार्थिव शरीरमा माल्यार्पण गर्दै पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।

कांग्रेसका महामन्त्री गगनकुमार थापा तथा कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, डा शशाङ्क कोइराला, गोपानमान श्रेष्ठ, डा मीनेन्द्र रिजाललगायत नेताहरूले स्व शास्त्रीप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो । स्व शास्त्रीको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने पार्टी कार्यालयले जनाएको छ ।