२० असार २०८३, शनिबार
,
Latest
शासकीय सुधार कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत सरकारका सय दिनका उपलब्धि सार्वजनिकः मन्त्रालय घटाउँदा २० अर्ब बचत पार्टी विभाजन र आन्तरिक निराशाले ‘पपुलिजम’ मौलायोः महासचिव पोखरेल बालेन सरकारको १०० दिन: सिंहदरबारमा पत्रकार सम्मेलन हेटौँडामा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते राष्ट्रियसभाः बाढीपहिरोले अवरुद्ध राजमार्ग तत्काल सञ्चालनमा ल्याउन माग मुलुकलाई एफएटिएको ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्ध छ : अर्थमन्त्री सीपीसीको १०५ वर्षः नेपाल–चीन साझा भविष्य निर्माणमा सहकार्यको प्रतिबद्धता नेपालमा विदेशी पर्यटक बढे सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यस्ता छन् उपलब्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायाधीश सिफारिस समावेशी हुन नसकेको भन्दै सांसदहरुको आपत्ति



अ+ अ-

काठमाडौँ । न्यायाधीश सिफारिस समावेशी हुन नसकेको भन्दै सांसदहरुले आपत्ति जनाएका छन् ।

शनिवारको संसदीय सुनुवाई समितिमा सांसदहरुले न्याय परिषद्ले सर्वोच्च अदालतको लागि न्यायाधीश सिफारिस गरेकोमा समावेशी हुन नसकेको भन्दै सांसदहरुले आपत्ति जनाएका हुन् । न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता महेश नेपाल सिफारिस हुनुभएको छ ।

न्यायपरिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दीपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सिफारिस गरेको छ । सांसदहरुले भने यसमा असहमति जनाएका हुन् । समितिको बैठकमा बोल्दै जनता समाजवादी पार्टीका सांसद प्रकाश अधिकारीले न्याय परिषद् सदस्य र न्यायाधीश गरी चार जना सिफारिस गरिएपनि समावेशी हुन नसकेको बताउनु भयो । उहाँले सांसदहरुले बारम्बार प्रश्न् गरिरहँदासमेत ध्यान जान नसकेको भन्दै संसदीय समितिले नै कदम् चाल्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले पनि तीन चार जना भयो । तर समावेशी हुन सकेको छैन । हामीले बारम्बार प्रश्न गरिरहेका छौँ । तर सरकारको ध्यान किन त्यहाँ गइरहेको छैन । हामी सुनुवाई समितिले के गर्नपर्ने हो ।’

समितिको बैठकमा बोल्दै अहिले संवैधानिक परिषद्का ५२ जनाको सुनुवाई भइरहेको बताउनु भयो । सुनुवाई भइरहेको व्यक्तिमा एक जना न्याय परिषद्मा पनि सदस्य रहनुभएको र उक्त व्यक्तिलाई नै राखेर धमाधम सबै नियुक्ति गर्ने हतारो किन छ ? भन्दै प्रश्न गर्नुभयो । यसबारे संवैधानिक प्रश्न उठ्न सक्छ की सक्दैन भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले संवैधानिक परिषद्का ५२ भाईको सुनुवाई चलिरहेको छ । त्यसमध्येका एक जना न्याय परिषद्मा पनि सदस्य हुनुहुन्छ । उहाँलाई राखेर धमाधम सबै नियुक्ति गर्ने हतारो किन परेको छ ? यसको कुनै संवैधानिक प्रश्न उठ्न सक्छ की सक्दैन ।’

समितिको बैठकमा बोल्दै नेकपा एमाले प्रमुख सचेतक महेश बर्तौलाले मुद्दाको चाप बढिरहेको र क्लियरेन्स हुन नसकिरहेको बताउनु भयो । न्याय परिषद्ले पहिला नै गर्नुपर्ने सिफारिस ढिलो गरी गरेको र अब छिटो संसदीय सुनुवाई गर्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘मुद्दाको चाप बढेको बढ्यै छ, क्लियरेन्स हुन सकिरहेको छैन । यो प्रश्न पनि छ । न्याय परिषद्ले पहिला नै गर्न पर्दथ्यो यो सिफारिस ढिलो भएको छ । समावेशिताको कुरा होला । कानूनी प्रश्नहरु जोडिएका होलान् । छिटो हामीले सुनुवाई गर्नुपर्छ ।’

समितिको बैठकमा बोल्दै नेपाली काँग्रेस सांसद जीवन परियारले न्यायाधीश सिफारिसमा समावेशिता हुन नसकेको भन्दै न्यायपरिषद्लाई बोलाएर जवाफ माग्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राज्यका संरचनाहरु कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकाका आफ्नै क्षेत्राधिकार छन् । न्याय परिषद्को पनि आफ्नै क्षेत्राधिकार छ । सरकारको प्रतिनिधिका रुपमा कानूनमन्त्री हुनुहुन्छ । सिफारिस भएका श्रीमानहरुको बारेमा पनि गुनासो छैन । उहाँहरु योग्य व्यक्ति नै हुनुहुन्छ । तथापि त्यहाँ समावेशिताका धेरै ठाउँ छन् । सिफारिस भएका व्यक्तिलाई प्रश्न गर्न मिल्दैन । यो समितिले न्याय परिषद्का व्यक्तिलाई बोलाएर छलफल गर्न मिल्छ की मिल्दैन ?’

समितिको बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले प्रतिपक्ष र सत्तापक्ष भन्दा माथि उठेर राज्य निर्माण गर्ने, राज्य बनाउने ढंगले समितिले सोच्नुपर्ने बताउनु भयो । समावेशिताको कुरामा न्याय परिषद्सँग छलफल गर्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘प्रतिपक्ष, सत्तापक्ष भन्दा माथि उठेर राज्य निर्माण गर्ने, राज्य बनाउने ढंगले समितिले सोच्नुपर्छ । यसका नयाँ सोचाईहरु विकास गर्नुपर्छ । समावेशिताको कुरामा न्याय परिषद्सँग छलफल गर्नुपर्छ । ’

समितिको बैठकमा बोलदै नेपाली काँग्रेस सांसद आनन्दप्रसाद ढुंगानाले न्याय परिषद्लाई बोलाउने भन्दा न्याय परिषद्को सदस्यको रुपमा कानूनमन्त्री सदस्य रहने भएकाले कानूनमन्त्रीलाई नै बोलाएर सोध्नुपर्ने धारणा राख्नुभयो । विगतमा पनि कानूनमन्त्रीलाई नै समितिमा बोलाएर सोधिएको स्मरण गराउनु भयो । उहाँले न्यायालयमा संसदले हस्तक्षेप गर्न नपाउने बतउनु भायो ।

उहाँले भन्नुभयो, ‘न्याय परिषद्लाई बोलाएर सोध्ने की नसोध्ने भन्दा धेरै पहिला सर्वोच्च अदालतको सेकेण्ड म्यानले न्याय परिषद्को बैठकमा न्यायालयमा भ्रष्टाचार छ भनेर लेख्नुभयो । समितिमा धेरै छलफल भयो । न्यायालयमा हस्तक्षेप संसदले गर्न पाउँदैन । कानूनमन्त्रीले आएर जवाफ दिनुपर्छ । न्याय परिषद्लाई बोलाउने की नबोलाउने भन्नेबारेमा हामीले यहीँबाट पारित गर्नुपर्छ ।’

संसदीय सुनुवाई समितिमा आज सर्वोच्च अदालतका न्यायाधिश र न्याय परिषद्को सदस्यको संसदीय सुनुवाइ प्रारम्भ भएको हो ।