९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

बाढी पूर्वतयारीको नमूना अभ्यास : विपद् व्यवस्थापनमा समुदायको सक्रियता बढ्दो

बाढी पूर्वतयारीको नमूना अभ्यास : विपद् व्यवस्थापनमा समुदायको सक्रियता बढ्दो
अ अ+ अ-

कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ अठन्नीफाँटामा सामुदायिक विपद् व्यवस्थापनमा उदाहरणीय पहल देखिएको छ । बाढीमा आधारित कृत्रिम घटना नमूना अभ्यास कार्यक्रमले विपद् व्यवस्थापनमा समुदायको भूमिका, चेतना र तयारीलाई बलियो आधार दिएको छ ।

नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ ९एनएनएसडब्लुए० र अन्तरराष्ट्रिय संस्था मर्सिकोरको साझेदारीमा सञ्चालित जलवायु उत्थानशील समुदाय कार्यक्रमअन्तर्गत बिहीबार वनहरा नदीमा आयोजना गरिएको कृत्रिम घटना नमूना अभ्यासमा विपद् आउनुअघि, विपद्को बेला र पछि अपनाइने कार्यलाई व्यावहारिक अभ्यासमार्फत प्रदर्शन गरिएको छ ।

कार्यक्रममा विशेष रूपमा पूर्वसूचना कार्यदल, उद्धार कार्यदल र प्राथमिक उपचार कार्यदलले आ–आफ्नो जिम्मेवारीअनुसार नमूना अभ्यास गरेर देखाएका थिए । विपद्को अवस्था आउँदा समुदायले कसरी समन्वय गरेर सुरक्षित ढङ्गले प्रतिकार गर्न सक्छ भन्ने कुरा नमूना अभ्यासका क्रममा देखाएको जलवायु उत्थानशील समुदाय कार्यक्रमका संयोजक महेश घिमिरेले बताउनुभयो ।

“पूर्वसूचना कार्यदलको मुख्य काम बाढी वा अन्य विपद् आउनुअघि समयमै सूचना सङ्कलन, विश्लेषण र जानकारी प्रवाह गर्नु हो”, उहाँले भन्नुभयो, “बाढीको जोखिम देखिएपछि कार्यदलले तत्काल समुदायमा सूचना फैलाउने, सरोकारवाला निकायलाई खबर गर्ने र जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क गराउने काम गर्छ ।”

सामुदायिक सूचना केन्द्र, मोबाइल सन्देश, घरघर सूचना, साइरन बजाएर र सार्वजनिक स्थानहरूमा माइकिङजस्ता माध्यममार्फत सावधानीका सन्देश प्रवाह गर्नमा समुदाय सचेत रहेको उहाँले बताउनुभयो ।

“जब विपद् घट्न थाल्छ, तत्काल उद्धार कार्यदल सक्रिय हुन्छ”, सामुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष सत्यराज कठायतले भन्नुभयो, “अभ्यासमा उद्धार टोलीले जोखिममा परेका व्यक्तिलाई सुरक्षित स्थानमा सार्ने, बच्चा, वृद्ध, अपाङ्गता भएका व्यक्तिको प्राथमिकताका आधारमा उद्धार गर्छ भन्ने कुरा अभ्यासमार्फत देखाइएको छ, त्यो व्यवहारमा उतार्छौँ ।”

उहाँका अनुसार विपद्का बेला सामान्य घाइतेदेखि गम्भीर अवस्थासम्मकालाई तत्काल उपचार आवश्यक पर्ने गर्छ । प्राथमिक उपचार कार्यदलले सुरक्षित स्थानमा उपचार केन्द्र स्थापना गरेर घाइतेको प्राथमिक उपचार गर्ने, रक्तश्राव रोक्ने, सामान्य औषधोपचार गर्नेजस्ता काम नमूना अभ्यासमा प्रदर्शन गरिएको छ । नगरपालिकाका विपद् सम्पर्क व्यक्ति प्रेम बोगटीले सूचना प्रवाह, उद्धार र उपचारबीच राम्रो समन्वय भयो भने विपद्को असर न्यून पार्न सकिने बताउनुभयो ।

विगतमा बाढीजन्य विपद्का घटनामा परेर भौतिकसँगै मानवीय क्षति निकै हुने गरेको उल्लेख गर्नुहुँदै उहाँले हाल बाढीजन्य विपद्बारे जल तथा मौसम विज्ञान विभागले जारी गर्ने बुलेटिन ‘अलर्ट’ले निकै सहज बनाएको बताउनुभयो ।

स्थानीय समुदाय बाढीजन्य प्रकोप आउनपूर्व नै तयारीमा जुट्ने भएकाले मानवीय क्षति न्यून हुँदै गएको उहाँले बताउनुभयो । नदी क्षेत्रका बगरमा वृक्षरोपणसँगै घाँस रोपेर भूक्षय हुने क्रमलाई रोक्न सकिने भएकाले त्यसतर्फ समुदायको ध्यान जानुपर्ने बताउनुभयो ।

‘जलवायु उत्थानशील समुदाय कार्यक्रम’अन्तर्गत आयोजना गरिएको यस कार्यक्रमको प्रमुख उद्देश्य स्थानीय तहमा बाढी, डुबानजस्ता प्राकृतिक विपद्का खतरालाई न्यून गर्ने र जनधनको सुरक्षा सुनिश्चित गर्नु रहेको छ ।

विपद् न्यूनीकरणका लागि कार्यक्रमअन्तर्गत दोधारा चाँदनी नगरपालिका–१० कुतियाकभर, शान्तिटोल, पटरा खल्ला, कृष्णपुर नगरपालिका–२ अठन्नीफाँटा, नयाँ बस्ती, खल्लागोठलगायत क्षेत्रका बाढी प्रभावित समुदायमा मानवीय क्षति न्यूनीकरण गर्न कृत्रिम घटना नमूना अभ्यास कार्यक्रम सञ्चालन गरिएका छन् । रासस