२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको महाधिवेशन तोकिएकै मितिमा, तल्लो तहको कार्यतालिका परिमार्जन



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तोकिएकै मितिमा महाधिवेशन गर्नेगरी तल्लो तहको कार्यतालिका परिमार्जन गरेको छ । 

मंगलबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले कोरोना महामारीका कारण प्रभावित भएको महाधिवेशन कार्यतालिका परिमार्जन गरेको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार फानगु १५ भित्र सक्ने भनिएको अन्तरिम संरचनाको समायोजन असार मसान्तमा सक्ने निर्णय भएको छ । यस्तै साउन मसान्तमा सभापतिबाट प्रमाणित क्रियाशिल सदस्यहरुको अन्तिम नामावली केन्द्रीय निर्वाचन समितिमा बुझाउने र पुष ७ गते देशभरीका ७ हजार वडाको अधिवेशन गर्ने निर्णय पनि बैठकले गरेको छ । यस्तै ७ सय ५१ वटा स्थानीय तहमा पुस ८ गते प्रदेशसभाको पुष ११ गते र प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन पुस १३ गते गरिसक्ने निर्णय पनि बैठकले गरेको छ । यस्तै एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा पुष १६ गते, प्रदेशहरुमा माघ ६ गते अधिवेशन गर्ने निर्णय कांग्रेस केन्द्रीय समितिले गरेको छ । पार्टीको महाधिवेशन भने पूर्वनिर्धारित मिति फागुन ७ बाट १० गतेसम्म हुने प्रवक्ता शर्माले बताउनुभयो ।

कांग्रेसले प्रधानमन्त्रीले सरकार परिवर्तनका लागि भारतले षडयन्त्र गरिरहेको भनेर दिएको अभिव्यक्ति प्रति कडा आपत्ति जनाएको छ । केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको विषयमा पनि छलफल भएको प्रवक्ता शर्माले बताउनुभयो । संसद र संसदीय समितिमा आफ्नै पार्टीको बहुमत हुँदा पनि यस्तो गैरराजनीतिक अभिव्यक्ति आउनु आपत्तिजनक भएको उहाँले बताउनुभाये । उहाँले भन्नुभयो, ‘‘नक्साको विषयलाई आफुले दिएको अटोग्राफजस्तो सोचेर पारित भएपछि मलाई हटाउन तर्फ अमुख देश लाग्यो भन्ने अभिव्यक्ति गैरजिम्मेवार, कुटनीतिक मूल्य मन्यता भन्दा बाहिरको अभिव्यक्ति छ । नक्सा पारित गरेको विषय एक प्रधानमन्त्रीको विषय होइन् । सिगो देश एक भएर संसदले पारित गरेको नक्सा हो । सबैको साझा स्वामित्व छ ।’’

साझा संकल्पका साथ नक्सा पारित गर्दा देश एक ठाउँमा उभिएको बेला दिल्लीसँग दिलको कुरा दृढतासँग गर्न पनि आग्रह गरिएको उहाँले बताउनुभयो । नक्सा प्रकाशित भएपछि भूमि फिर्ताका लागि पहल गर्न आग्रह गर्दा पनि प्रधानमन्त्रीले विषयान्तर गर्न खोजेको उहाँले बताउनुभयो ।

संविधानले बहुमतबाट सरकार बनाउने र हटाउने अधिकार दिएको उल्लेख गर्दै शर्माले प्रधानमन्त्रीले आफ्ना सहपाटी वा अन्य कुनैसँग सम्बन्धित भएर दिएको अभिव्यक्ति गैर राजनीतिक भएको बताउनुभयो । सरकारले दुई तिहाइको सुविधा हुँदापनि अनुकुल परिस्थितिलाई प्रतिकुलतातर्फ बदल्दै गएको उहाँको भनाई छ ।