काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले राजतन्त्र पक्षधरहरुको आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै आन्दोलनका घाइतेहरुको उपचार सरकारले गर्नुपर्ने बताउनुभएको छ ।
राजतन्त्र पुनःस्थापनका लागि आन्दोलन गर्दा सरकारले दमन गरेर घाइते बनाएको भन्दै उहाँले आन्दोलनका क्रममा घाइते भएकाहरुको स्वास्थ्योपचार सरकारले गर्नुपर्ने माग गर्नुभएको हो ।
बुधवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले राजतन्त्रको पुनःस्थापनाका लागि आन्दोलन गर्ने अघिल्लो दिनबाट दिँदै आएको सुरक्षा हटाइएको भन्दै सरकारसँग जवाफ माग गर्नुभयो ।
सांसद तामाङले भन्नुभयो, ‘हामी यो आन्दोलन गर्नुअघि नेपाल सरकारले सुरक्षाका लागि सुरक्षाकर्मी खटाएको थियो । त्यसलाई पूरै फिर्ता लिएको छ । नियमित सुविधान पनि खोसिएको छ । आन्दोलनका क्रममा घाइते भएका छन् । कसैको हात भाँचिएको छ । टाउको फुटेको छ । उनीहरुको सरकारबाट स्वास्थ्योपचारको व्यवस्था हुनुपर्छ ।’
सांसद तामाङले राजतन्त्र पक्षधर आन्दोलनका क्रममा नेताहरुमाथि सरकारले दमन गरेको भन्दै आपत्ति जनाउनु भयो ।










