काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै छ । यो खेल आज नेपाली समयअनुसार दिउँसो ३ बजेर ४५ मिनेटमा सुरु हुने छ ।
नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय यस सिरिज नेपालले दोस्रो खेल खेल्न लागेको हो ।
पहिलो खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डलाई एक विकटले पराजित गरेको थियो ।
सात महिनापछि लामो ढाँचाको सिरिजमा फर्किएको नेपाललाई लिग–२ मा टिकिराख्न आगामी खेल जित्नैपर्ने दबाब छ ।
सिरिजको शीर्ष चारमा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् । अन्तिम चारमा रहने टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ । नेपाल अहिले लिग–२ मा १३ खेलबाट ८ अङ्क जोड्दै तालिकाको सातौ स्थानमा छ । १७ खेल सकेको स्कटल्यान्ड २० अङ्कसहित चौथो र २० खेल सकेको नेदरल्यान्ड्स २६ अङ्कसहित दोस्रो स्थानमा छ ।
शीर्षस्थानमा रहेको अमेरिकाको २० खेलबाट २८, तेस्रो स्थानमा रहेको ओमानको २४, पाँचौँ स्थानमा रहेको क्यानाडाको २० खेलबाट २०, छैटौँ स्थानमा रहेको नामिबियाको २० खेलबाट १४ र आठौं स्थानमा रहेको संयुक्त अरब इमिरेट्स (युएई)को १६ खेलबाट ६ अङ्क मात्र छ।
नेपालले अब आइतबार स्कटल्यान्ड र मङ्गलबार नेदरल्यान्ड्ससँग खेल्ने छ । त्यसपछि तीन टोलीबीच टी–२० सिरिज हुने छ ।










