९ पुष २०८२, बुधबार
,
Latest
अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराइने जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती चुनावी गतिविधि तीव्र, समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दलहरु हिमालयन रिम फिल्म प्रदर्शनी सम्पन्न जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेवानिवृत्त भएपछि शीतलचिनी खेतीमा व्यस्त पराजुली



अ+ अ-

दमौली । यहाँ जिल्लामै पहिलो पटक स्थापना गरिएको मोरिङ्गा (शीतलचिनी) उद्योगबाट उत्पादन सुरु भएको छ । भानु नगरपालिका–१ साजबोटे निवासी गङ्गाबहादुर पराजुलीले स्थापना गर्नुभएको एभरेष्ट मोरिङ्गा उद्योगबाट ‘मोरिङ्गा पाउडर’ उत्पादन सुरु भएको हो ।

सरकारी सेवाबाट अवकाशपश्चात् दुई वर्षअघि उद्योग स्थापना गर्नुभएका उहाँले यस वर्ष पहिलो पटक उत्पादन भएको जानकारी दिनुभयो । ५० रोपनी जग्गा भाडामा लिएर शीतलचिनीको खेती गरेकामा १८० किलोग्राम उत्पादन भएको उहाँले बताउनुभयो ।

“उत्पादित मोरिङ्गा पाउडरमध्ये १०० किलो लुम्बिनीस्थित मोरिङ्गा एग्रो उद्योगलाई प्रतिकिलो रु एक हजारका दरले बिक्री गरिसकेको छु । बाँकी ८० आफैँले प्याकेजिङ गरेर बिक्री गर्ने तयारी छ”, पराजुलीले भन्नुभयो, “जिल्लामै पहिलो उद्योग हो यो । यहाँबाट उत्पादन भएको मोरिङ्गा पाउडरलाई प्रचारप्रसार गर्नुपर्छ भन्ने सोचसहित आफैँले प्याकेजिङ गरेर बिक्री गर्न लागेको छु ।”

अवकाशपश्चात् यस खेतीबारे आवश्यक अध्ययन गरेर रु २० लाख लगानीमा उद्योग स्थापना गरेको उहाँले बताउनुभयो । विगतमा झाँडी रहेको जग्गा भाडामा लिएर फँडानी गरी पाँच हजार बोट लगाएर व्यवसाय सुरु गरेको पराजुलीले जानकारी दिनुभयो । उहाँले मोरिङ्गाको पातबाट धुलो बनाएर प्याकेजिङ गर्ने कार्यका लागि घरेलु तथा पर्यटन उद्योग कार्यालयमा उद्योग स्थापना गर्नुभएको छभने उत्पादनका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौँबाट अनुज्ञापत्र अनुमति लिनुभएको छ ।

“अवकाश भएपछि त्यसै बस्न मन लागेन, त्यसैले उद्योग दर्ता गरेर काम सुरु गरेँ । मोरिङ्गाको धुलो बाहिरी जिल्लाबाट २०० ग्रामका लागि रु ७०० मा आउने रहेछ । जिल्लाभित्रैको उत्पादनलाई प्रोत्साहन गर्नुपर्छ भनेर मैले रु ५०० मात्रै शुल्क निर्धारण गरेको छु”, उहाँले भन्नुभयो ।

पराजुलीले यस कार्यका लागि दुई जनालाई रोजगारी दिनुभएको छ । उत्पादनका बेला भने पात काट्नका लागि छ÷सात जनालाई काममा लगाउनु परेको छ । जेठ महिनादेखि कात्तिक महिनासम्म यसको उत्पादन हुने गरेको छ । पोषणतत्व बढी हुने भएकाले यो स्वास्थ्यका लागि फाइदाजनक भएको र विशेष गरी मधुमेह, उच्च रक्तचाप, ग्याष्ट्रिकलगायत बिरामीलाई यसले फाइदा गर्ने उहाँले बताउनुभयो ।