काठमाडौँ । आईपीएल २०२५ को एलिमिनेटर खेल आज मुम्बई इन्डियन्स र गुजरात टाइटन्सबीच हुँदैछ ।
खेल मुल्लानपुरको महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय रंगशालामा साँझ ७ः४५ बजे सुरु हुनेछ ।
आज हार्ने टोलीको यात्रा यहीँ समाप्त हुनेछ भने विजेता टोलीले क्वालिफायर–२ मा पञ्जाब किंग्ससँग खेल्नेछ ।
दुवै टोली प्लेअफमा दोस्रो पटक आमनेसामने हुनेछन् । यसअघि उनीहरू २०२३ को क्वालिफायर–२ मा भिडेका थिए । जसमा गुजरातले मुम्बईलाई ६२ रनले पराजित गरेको थियो ।
आईपीएलमा मुम्बई इन्डियन्स र गुजरात टाइटन्सबीच अहिलेसम्म जम्मा ७ खेल खेलिएका छन् । जसमध्ये गुजरातले ५ खेल जितेको छ भने मुम्बईले २ खेल मात्र जितेको छ । दुवै टोली सिजनमा तेस्रो पटक आमनेसामने हुनेछन् ।
यसअघिका दुई खेलमा गुजरातले दुवै पटक जितेको थियो । दुवै टोली पहिलो पटक महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय रंगशालामा भिड्नेछन् ।
मुम्बई इन्डियन्सले पाँचौं पटक एलिमिनेटर खेल खेल्दै
मुम्बई इन्डियन्सले पाँचौं पटक आईपीएल एलिमिनेटर खेल खेल्नेछ । यसअघि उसले २०११, २०१२, २०१४ र २०२३ मा एलिमिनेटर खेलेको थियो । यी सबै सिजनमा टोली उपाधि जित्ने त परको कुरा फाइनलसम्म पुग्न सकेन ।
२०११ र २०२३ मा एलिमिनेटर जितेको मुम्बई क्वालिफायर–२ मा हार्न पुग्यो । जबकि, २०१२ र २०१४ मा, यो एलिमिनेटरमा नै हारेर बाहिरिएको थियो । अर्कोतर्फ गुजरातले भने पहिलो पटक एलिमिनेटर खेल खेल्नेछ ।
मुम्बईको शीर्ष अर्डर उत्कृष्ट लयमा छ । पूर्व कप्तान रोहित शर्माले ३ अर्धशतक र १४७.५३ को स्ट्राइक रेटसहित ३२९ रन बनाएका छन् । सूर्यकुमार यादव यस सिजनमा उत्कृष्ट ब्याटिङ गरिरहेका छन् । उनले १६७.९७ को स्ट्राइक रेटमा ६४० रन बनाएका छन् ।
बायाँ हाते फास्ट बलर ट्रेन्ट बोल्टले एमआईबाट सबैभन्दा धेरै विकेट लिएका छन् । उनले १४ खेलमा १९ विकेट लिएका छन् । जसप्रीत बुमराहले अहिलेसम्म १० खेलमा १७ विकेट लिएका छन् ।
यस सिजनमा गुजरातका ओपनरहरू पनि उत्कृष्ट लयमा छन् । बायाँ हाते ब्याट्सम्यान साई सुदर्शन सिजन र टोलीको सर्वाधिक स्कोरर हुन् । उनले अहिलेसम्म १५५.३७ को स्ट्राइक रेटमा ६७९ रन बनाएका छन् । उनले यस सिजनमा ५ अर्धशतक बनाएका छन् । कप्तान शुभमन गिलले अहिलेसम्म ६ अर्धशतकसहित ६४९ रन बनाएका छन् । उनको स्ट्राइक रेट १५६.३८ छ । गिल सिजनको दोस्रो सर्वाधिक स्कोरर हुन् ।
तीव्र गतिका बलर प्रसिद्ध कृष्ण सिजनमा दोस्रो सर्वाधिक विकेट लिने बलर हुन् । उनले अहिलेसम्म १४ खेलमा २३ विकेट लिएका छन् । यस अवधिमा उनको इकोनोमी रेट ७.९० रहेको छ । प्रसिद्ध सर्वाधिक विकेट लिने बलर चेन्नईका नूर अहमदभन्दा १ विकेट पछाडि छन् । टोलीमा मोहम्मद सिराज र इशान्त शर्मा जस्ता अनुभवी बलरहरू पनि छन् ।
महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय रंगशालाको पिचले ब्याट्सम्यानहरूलाई मद्दत गर्छ । यहाँ अहिलेसम्म १० वटा आईपीएल खेल भइसकेका छन् । यहाँको उच्चतम टोली स्कोर २१९–६ हो, जुन पञ्जाबले यस सिजनमा चेन्नई सुपर किंग्स विरुद्ध बनाएको थियो ।
शुक्रबार मुल्लानपुरमा धेरै गर्मी हुने छैन । आज दिनभरि बादल लाग्नेछ । वर्षाको सम्भावना छैन । तापक्रम २६ देखि ३७ डिग्री सेल्सियस सम्म हुन सक्छ ।










