काठमाडौँ । नेकपा (एमाले) महासचिव शंकर पोखरेलले गणतन्त्र दिवस जनताको खुशी र गौरवको दिन हो भन्ने जानकारी दिन उत्सवका रुपमा मनाउन लागिएको बताउनुभएको छ ।
बुधवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा गणतन्त्र उत्सवको तयारीका सम्बन्धमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले गणतन्त्रलाई सरकार र गणतन्त्र स्थापनामा भुमिका खेल्ने पार्टीहरुले समेत उत्सवको रुपमा मनाउनुपर्ने बताउनु भयो । एमालेले गणतन्त्रलाई उत्सवको रुपमा रक्षात्मक भएर नभई यसको महत्व स्थापित गर्नको लागि मनाउन लागेको जिकिर गर्नुभयो । संवैधानिक व्यवस्थाअनुसार बजेट प्रश्तुत गर्ने दिन नै गणतन्त्र दिवस पर्ने गरेको कारण राज्यको उपस्थिति कमजोर भएको भन्दै महासचिव पोखरेलले यसमा सुधार गर्न आवश्यक रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘गणतन्त्रलाई उत्सवको रुपमा आयोजना गर्ने कुरा सरकार र गणतन्त्र ल्याउने पार्टीले पनि गर्नुपर्दछ । उत्सव मनाउने कुरा रक्षात्मक केन्द्रित भएर होइन । त्यसको महत्वलाई स्थापित गर्नको लागि हो भन्ने कुरालाई बुझ्नुपर्दछ । बजेट प्रश्तुत गर्ने दिन भएको कारणले राज्य जुन प्रभावकारी ढंगले सामेल हुनुपथ्र्यो त्यति हुन नसकेको कुरा हामीले अनुभुति गरेको र त्यसमा पनि भविष्यमा सुधार गर्नुपर्ने भएको हुनाले हो पार्टीले उत्सव मनाउने भनेको हो । यसलाई वाध्यताको रुपमा नबुझौँ ।’
उहाँले पार्टी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जेठ १५ गतेको कार्यक्रमबारे दिएको अभिव्यक्ति प्रधानमन्त्रीको रुपमा नभई पार्टी अध्यक्षको रुपमा दिएको स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले जेठ १५ गते काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्ने भन्दै सोही अनुसार तयारी गर्न कार्यकर्तालाई निर्देशन दिनुभएको थियो । महासचिव पोखरेलले पार्टीको भेलामा पार्टीको नीति बोलेको उल्लेख गर्दै भ्रममा नपर्न उहाँले आग्रह समेत गर्नुभयो ।
उहाँले भन्नुभायो, ‘प्रधानमन्त्री र पार्टी अध्यक्ष एकै जना हुनुहुन्छ । उहाँले प्रधानमन्त्रीको रुपमा राज्यका नीति बोल्नुहुन्छ, अध्यक्षका रुपमा पार्टीका नीति बोल्नुहुन्छ । कहिले काँही हामी के भ्रममा पर्दछौँ भने पार्टीको भेलामा पनि पार्टी नीति बोल्दा पनि प्रधानमन्त्रीले राज्यकै नीति बोल्नुभयो भन्ने अर्थमा बुझ्ने गर्छौं । पार्टीका आन्तरिक भेलामा उहाँले पार्टी नीति बोल्नुभएको छ ।’
महासचिव पोखरेलले प्रधानमन्त्री बजेट निर्माणको प्रक्रियामा व्यस्त हुनुपरेको कारण मानव अधिकार आयोगको कार्यक्रममा उपस्थित हुन नसकेको समेत स्पष्ट पार्नुभएको छ । प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध विज्ञप्ति जारी गरेको कारण प्रधानमन्त्रीले कार्यक्रम बहिस्कार गरेको हल्लामा कुनै सत्यता नरहेको उहाँको भनाइ छ । उहाँले भुमिका तटस्थ, निष्पक्ष र संविधानअनुसार राख्न आयोगलाई सुझाव समेत दिनुभयो ।
उहाँले भन्नुभायो, ‘प्रधानमन्त्री बजेट अधिवेशनको समयमा हुनुहुन्छ । बजेट निर्माणको प्रक्रियामा व्यस्त हुनुहुन्छ । त्यही बेलामा राजनीतिक दलहरुको बीचमा विवाद र बहसहरु भइरहेको बेला राजनीतिक संवाद र छलफल गर्नुपर्ने हुन्छ । राज्यका सबै कार्यक्रमहरुमा समय दिन गाह्रो हुन्छ । यसअर्थमा कुनै कार्यक्रममा उपस्थित हुन नसकेको अवस्थामा बहिस्कारको अर्थमा बुझ्नु हुदैन । यद्धपी मानव अधिकार आयोगको भूमिकाको सम्बन्धमा आयोगले आफ्नो भूमिका तटस्थ, निष्पक्ष र संविधानअनुसार हुनुपर्छ भन्ने कुरामा उसको ध्यान पुगेकै होला । त्यो विषयमा थप भन्नुपर्छ भन्ने लाग्दैन ।’
जनताको बढ्दो आकाङ्क्षा र अपेक्षाका आधारमा काम हुन नसकेको स्वीकार्दै गणतन्त्रवादी दलहरु राज्यको समृद्धिमा हातेमालो गर्न जरुरी रहेको बताउनु भयो ।










