१० असार २०८२, मंगलवार
,
Latest
जसपाले समर्थन फिर्ता लिँदैमा सरकारलाई असर पर्दैन : अध्यक्ष यादव तनहुँका स्थानीय तहद्वारा करिब रु आठ अर्बको बजेट प्रस्तुत ‘शिक्षाको अवस्था सुधार्न स्थानीयतहको पहलकदमी आवश्यक छ’ अध्यक्ष दाहाल र अध्यक्ष नेपालबीच भेटवार्ता ‘विद्यार्थीको सङ्ख्याका आधारमा आङ्गिक शिक्षालयले कार्यक्रम सञ्चालन गर्नुपर्ने’ आन्तरिक राजस्व कार्यालय भद्रपुरद्वारा दुई अर्ब ९१ करोड राजस्व सङ्कलन हेटौँडा उपमहानगरपालिकाको बजेट दुई अर्ब ९० करोड वीरेन्द्रनगरद्वारा चार अर्ब ३८ करोड बजेट विनियोजन ‘भाषा, संस्कृति र स्वतन्त्रताको संरक्षण गर्नु सबै नेपालीको दायित्व हो’ भिजिट भिसा छानबिनमा वैरागी नेतृत्व अस्वीकार्य : रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेसक्याम्पमा ४० बढी देशका मान्छे भेटिए सरकार भेटिएन !



अ+ अ-

सम्माननीय प्रधानमन्त्री,
केपी शर्मा ओलीज्यू,

‘बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्´ रामकृष्ण ढकालको सुमधुर स्वरमा रहेको यो गीतले हामी हरेक नेपालीको भाव बोल्छ ।तर रातदिन जो हिमालमै बस्छन् नि तिनको भावले चैं `सन्चले बाँच्न पाइयोस्´ भन्ने आग्रह बोलिरहेको हुन्छ।

सगरमाथाको काखबाट राजधानी फर्किएपछि मैले सोचें, बजेट बन्ने बेलामा मलाई आफ्नै क्षेत्रको चिन्ता, अर्को साथिलाई आफ्नै ठाउँको पिर तब कतै हाम्रो सान र स्वाभिमानका प्रतिक हिमालहरुको पीडामा मल्हम कम त पुग्ने होइन ? त्यसैले यो दोस्रो पत्र म यहाँलाई लेख्दैछु।बेसक्याम्पबाट पठाएको पहिलो पत्र `जलवायु परिवर्तन र न्याय: नेपालले गर्नुपर्छ नेतृत्व´ भन्ने बिषयमा थियो। यो पत्र `हिमाली जीवन, हिमाली पर्यटन र सरकारसँगको अपेक्षा´ सँग सम्बन्धित छ ।

लुक्लादेखी बेसक्याम्पसम्म र बेसक्याम्पदेखि क्याम्प ३ को नजिकसम्म पुग्दैगर्दा मैले त्यहाँ जे समस्या, अभाव र चुनौती देखें तिनलाई यहाँ समक्ष सारमा पेश गरेको छु।यहाँको अविलम्ब निर्देशनले उल्लेखित कतिपय बिषय जेठ १५ मा आउने बजेटमा समेटिने र अन्य बिषय सम्बन्धित निकायबाट क्रमशः सम्पादन हुने विश्वास मैले लिएको छु ।’

१) सम्मानित भरिया बीमा

बैशाख २० मा लुक्ला उत्रीएर ६ रात बाटोमा बसेर सगरमाथा बेसक्याम्प पुग्दासम्म मैले सयबढी भरिया साथीहरू बाटोमा भेटें।कोहि युवा हुनुन्थ्यो, कोहि वृद्ध।ती मध्ये २३ जनासँग संवाद गरें।प्रायलाई एउटै प्रश्न गरें, तपाईंको `बीमा´ गरिएको छ ? जवाफ सबैको एउटै थियो- छैन।यत्तिको गह्रुङ्गो भारी बोकेर हिमालको उकालो ओह्रालो हिंड्दा लडेर कुनै चोट लागे कसले उपचार गर्छ ? एक भरिया साथी रमेश कुलुङ राइको जवाफ मार्मिक थियो- उपचार कसैले गर्दैन, त्यसैले आफैं जानेर नलड्ने गरि हिँड्नुपर्छ नि !

प्रधानमन्त्रीज्यु- म सम्झन्छु सुर्यबहादुर तामाङलाई, कोरोनाको बेला हातमा कात्रो चेपेर सडक पेटीमा जो मृत भेटिएका थिए।उनी राजधानीको कीर्तिपुरमा मरेका थिए, त्यसैले छापामा उनको फोटो आउन सम्भव भयो।तर के हामीले कहिल्यै देखेका छौं- हिमालबाट झरेर घाइते भएकाको तस्वीर ?

बजेट बनाउन शुरु गर्दैगर्दा अर्थमन्त्रीजिले आफ्नो कार्यकक्षमा दैनिक सयौं मानिस भेट्नु भयो।ती भित्र न कलंकीका भरिया पुगे न कालापथ्थरका।म प्रधानमन्त्रीज्युलाई नम्र निवेदन गर्न चाहन्छु- यो बजेटले स्थानीय तह मार्फत दर्ता, पहिचान र विवरण लिने गरी `भरिया बीमा´ को अवधारणा ल्याओस्।ताकी कामको क्रममा कोहिपनी घाइते भएभने तिनले राज्यको स्नेहको हात साथ पाउन सकुन् ।

२) व्यवसायीक आरोहीलाई पेन्सन

प्रधानमन्त्रीज्यु हरेक बर्ष संसारका सयौं मानिस नेपालका हिमाल आरोहण गरेर फर्किन्दा तिनको मोबाइलमा हिमालसँगै कैद हुने अर्को तस्वीर हुन्छ-;व्यवसायिक आरोहीको।तिनले घरको भित्तामा सजाउने एक आत्मीय तस्वीर बन्दछ तिनै, सहयोगी आरोहीको।

तर ३०/ ४० बर्षसम्म काम गरिसकेर `अवकाश´ लिएर हाम्रा यी व्यवसायिक आरोही घर जाँदैगर्दा रित्तो हात घर जान्छन्।जलवायु परिवर्तनको असरबाट हिमाल जोगाउन सकियो, तर सरकारको दृस्टी पुर्‍याएर ती व्यवसायिक आरोहीलाई प्रोत्साहित गर्न या जोगाउन सकिएन भने अबको दशकमा आरोहण पर्यटन गम्भीर संकटमा पुग्नेछ।सरकारले हाम्रा ८ उच्च हिमाल सगरमाथा, ल्होत्से, मकालु, कंचनजंगा, चोयु, धवलागिरी, मनास्लु र अन्नपूर्ण लगायत अन्य हिमालमा नियमित रुपमा कार्य गरिरहेका व्यवसायिक आरोहीहरुको विवरण संकलन स्थानीय तह मार्फत गराएर, एक निस्चित उमेरपछि ससम्मान विदाइ गरेर हातमा पेन्सन पट्टा थमाउने व्यवस्था सरकारले गर्नैपर्छ ।

३) बेसक्याम्पमा सरकारको खोइ ‘टावर’ ?

प्रविधिको यो जमानामा प्रकृतिको सुन्दर काख बेसक्याम्पमा सरकारको एक थान संचार टावर छैन।बेसक्याम्प र क्याम्प टु´मा चलाइएका `नेटवर्क´ न सरकारका हुन् न सरकारको पहुँचमा छन्।जीवनमा एकपटक सगरमाथा बेसक्याम्प पुग्ने सपना बोकेर त्यहाँ पुगेका कुनैपनी बिदेशी पर्यटकले आफ्नो खुशी तुरुन्तै आफ्नो परिवारसँग बाँड्न सक्दैनन्।

मैले व्यक्तिगत माग बुद्ध शान्ति र बाहुन्डाँगिका लागि गरौंला, गरेको छु पनि।रास्ट्रको कुरा आउँदा अबको बजेटमा उच्च हिमाली क्षेत्र, जहाँ संसारभरका पर्यटक थुप्रीन्छन् त्यहाँ अनिवार्यसँग सरकारको संचार टावर जोडियोस्।सगरमाथा बेसक्याम्प पुग्नुअघि बाटोमा पर्ने गोरकक्षेपमा एनटिसिको एउटा राम्रो टावर छ, सेल्फी खिंच्न मिल्ने नेटवर्क नफाल्ने।सम्माननीय प्रधानमन्त्रीज्यु मार्फत म संचारमन्त्रीजिलाई आग्रह गर्न चाहन्छु – अविलम्ब कालापथ्थरमा टावर खडा गरेर बेसक्याम्प हुँदै आवश्यक भूगोलसम्म त्यसले `कभर´ गर्ने प्रबन्ध मिलाइयोस् ।

४) हाम्रो सगरमाथामा हाम्रो प्रविधि किन पुगेन ?

सगरमाथाको पिकमा जो पुग्छन् तिनको मोबाइलमा `अटो´ नियन्त्रण चीनिया समयको भइसक्छ।उताको टावरले अतिक्रमण गर्‍यो भनेर वक्तव्य दिएर हुन्न, आफ्नो टावरको स्थापना र त्यसको क्षमताको दायरा बलियो बनाउनु हाम्रो सरकारको कर्तव्य हो।यो संवेदनशील प्रश्नमा सरकारको गम्भीर ध्यान अविलम्ब पुगोस् ।

५) बेसक्याम्पमा ४० बढी देशका मान्छे भेटिए, सरकार भेटिएन !

सम्माननीय प्रधानमन्त्रीज्यु, म दोष कसैलाई लगाउन चाहन्न।बरु अघिपछिका सबै सरकारको कमजोरीका रूपमा लिन चाहन्छु।सगरमाथाको बेसक्याम्पमा ४० बढी देशका मानिस थिए होलान् तर त्यो बीचमा कहिँ केही परे सम्हाल्नका लागि सरकार थिएन।आरोहण सिजनको निश्चित समय करिब अढाई महिनासम्म बेसक्याम्प गुल्जार हुने गर्दछ।त्यति छोटो अवधीको समयमा सरकारले आफ्नो सुरक्षा युनिट बिना बर्दीमै त्यहाँ तैनाथ गर्नसक्दछ, गर्नुपर्दछ।सन् 2013 र अघिपछि फाट्टफुट्ट अप्रीय घटना त्यहाँ भएका छन्, सगरमाथाको बेसक्याम्पमा भविस्यमा कुनैपनी अनपेक्षित घटना हुन नदिन संवेदनशीलता जरुरी छ ।

६) सडक बनाऔं, ट्रेकिङ रुट नमासी

संसारको सबैभन्दा अग्लो शिखरको फेदिसम्म पुग्ने चाहना विश्वव्यापी रुपमा हामीले आगामी दिनमा अझै बढाउनु छ।लगातार ५/६ दिनसम्म ट्रेकिङ रुटबाट हिँडेर पुगिने मार्ग यथावत राख्दै सल्लेरिबाट लुक्लातर्फ आएको मार्गलाई बिस्तारीत गर्दै, बेसक्याम्पसम्म `रास्ट्रीय गौरवको सडक´ निर्माण गर्ने परिकल्पना र परियोजनालाई सार्थक रुप दिएर सगरमाथाको फेदीसम्म पुग्ने संसारभरका मानिसको चाहनालाई नेपाल सरकारले सम्बोधन गर्न जरुरी छ।यसमा म प्रधानमन्त्रीज्युको बिशेष ध्यानाकर्षण गर्न चाहन्छु ।

७) थुक्लामा यसैबर्ष झोलुंगे पुल

गत मंसिरमा लोबुचे हिमाल आरोहण गर्न जाँदा दिङ्बोचे तिरबाट थुक्ला जोड्ने पुल जुन अवस्थामा अलपत्र देखें, अहिले पनि जस्ताको त्यस्तै देखें।सम्झिएँ आफ्नो क्षेत्रको एक अलपत्र झोलुंगे पुल र अरु माग गरिएका पुलहरु।स्वयं प्रधानमन्त्रीज्यु समेतको जिल्ला सदरमुकाम जोड्ने बिर्तामोड-भद्रपुरको बाटो।राधास्वामी- स्याङ्ल्याङटारको बाटो।त्यहाँको जनप्रतिनिधि भएको नाताले त्यसतर्फ अनिवार्य ध्यानाकर्षण गराउँदछु, गराएको छु। तर जब मेरो रास्ट्रीय जिम्मेवारीको प्रश्न आउँछ म नम्र निवेदन गर्दछु, त्यहाँका नागरिकको तर्फबाट आग्रह गर्न चाहन्छु, थुक्लामा झोलुङ्गे पुल तत्कालै निर्माणका लागि बिशेष दृष्टि पुगोस्।सानो बजेटका बीच पालिकाले निर्माण थालनिको प्रयास गरेको छ।भरथेग गर्नु संघिय सरकारको कर्तव्य हो।४० भन्दा बढी देशका नागरिकले त्यो दुर्दशाको फोटो खिचेका छन् , अबको सिजनमा त्यहाँ पुग्नेले सेल्फी खिंच्न पाउन् , नयाँ झोलुंगे पुलसँग ।

प्रधानमन्त्रीज्यू

सगरमाथा हाम्रो मान, सम्मान र स्वाभिमानको प्रतिक हो।जलवायु परिवर्तनको चपेटाबाट यसलाई र अन्य सबै हिमाललाई जोगाउने संकल्पसाथ शुरु `सगरमाथा संवाद´ बिस्तारित गरेर नेपालले यो एजेन्डामा विश्वस्तरिय नेतृत्व लिनुपर्छ/लिनसक्नुपर्छ।यसबारे हिजोको पत्रमा बिस्तारित लेखेकै छु।सगरमाथा केन्द्रित यो दोस्रो र अन्तिम पत्र टुंग्याउँदै गर्दा केवल यत्ति आग्रह गर्न चाहन्छु- आह्वान एउटा कुरा हो, `एक्सन´ अर्कै कुरा।हामीले गर्नसक्ने / गर्नुपर्ने र गर्नैपर्ने `एक्सन´ गम्भीरतापुर्वक गरौं।

सम्माननीय प्रधानमन्त्रीज्यु,

अविलम्ब निर्देशन होस् — बजेट निर्माण गर्दा तराई मधेस, पहाड सबै संतुलन मिलाउनुनै पर्छ तर त्यो मिलाइरहँदा हिमालले न्याय पाइन भन्ने अवस्था नआओस्।यो बजेटमा हिमाल देख्न पाइयोस्।जय हिमाल / जय नेपाल !

विश्वप्रकाश शर्मा
महामन्त्री
नेपाली काँग्रेस