काठमाडौँ । नेकपा (एमाले)ले आगामी जेठ १५ गते गणतन्त्र स्थापना भएको दिनलाई उत्सवको रूपमा देशव्यापी मनाएको निर्णय गरेको छ ।
आईतवार पार्टी मुख्यालय च्यासलमा बसेको एमालेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । बैठकले आम जनसमुदायलाई जेठ १५ गते गणतन्त्रलाई उत्सवको रूपमा आयोजना गर्न आह्वान गर्ने निर्णय गरेको पार्टीका महासचिव शङ्कर पोख्रेलले जानकारी दिनुभयो । उहाँले गणतन्त्र दिवसलाई उत्सवको रूपमा आयोजना गर्नको लागि पालिका स्तरमा विशेष कार्यक्रम आयोजना गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
काठमाडौं उपत्यकाको हकमा सांस्कृतिक झाँकीसहित गणतन्त्र दिवसलाई उत्सवको रूपमा आयोजना गरिने उहाँले बताउनुभयो । महासचिव पोख्रेलका अनुसार काठमाडौं उपत्यकामा उत्सवको आयोजना गर्न नेपाल जन सांस्कृतिक महासङ्घलाई संयोजनको जिम्मा दिइएको र पार्टी कार्यालयको तर्फबाट आवश्यक संयोजन गर्ने निर्णय भएको छ ।
उहाँले भन्नुभयो, “समसामयिक विषयमा केन्द्रित भएको यो बैठकले जेठ १५ गते गणतन्त्र स्थापना भएको दिनलाई उत्सवको रूपमा देशव्यापी मनाउने र त्यसका लागि आम जनसमुदायलाई गणतन्त्रलाई उत्सवको रूपमा आयोजना गर्न आह्वान गर्ने निर्णय गरेको छ । त्यसै गरी, पार्टी कमिटीका तर्फबाट र पालिकाका तर्फबाट गणतन्त्र दिवसलाई उत्सवको रूपमा आयोजना गर्नको लागि पालिका स्तरमा विशेष कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । काठमाडौं उपत्यकाको हकमा सांस्कृतिक झाँकीसहित गणतन्त्र दिवसलाई उत्सवको रूपमा आयोजना गर्नको लागि नेपाल जन सांस्कृतिक महासङ्घलाई त्यस कार्यक्रमको संयोजन गर्ने हिसाबले अगाडी बढ्ने र पार्टी कार्यालयको तर्फबाट आवश्यक संयोजन गर्ने निर्णय भएको छ ।”
महासचिव पोख्रेलले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र जनताको परिवर्तनको आकाङ्क्षालाई सम्बोधन गर्ने ऐतिहासिक उपलब्धिको रूपमा रहेको बताउनुभयो । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सबल र सुदृढ बनाउने कुरामा एमालेले जोड दिएको जिकिर गर्नुभयो । उहाँले जनताको सम्प्रभुताको विरुद्धमा हुने कुनैपनि गतिविधिहरू एमालेलाई स्वीकार्य नहुने चेतावनी दिनुभयो । महासचिव पोख्रेलले गणतन्त्र जनताको सार्वभौम शासन व्यवस्था रहेको बताउँदै त्यसलाई सबल र सुदृढ बनाउने कुरामा एमाले प्रतिवद्ध रहेको दोहो¥याउनु भयो ।
उहाँले भन्नुभयो, “मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र, जनताको परिवर्तनको आकाङ्क्षालाई सम्बोधन गर्ने ऐतिहासिक उपलब्धिको रूपमा रहेको अवस्थामा त्यसलाई सबल र सुदृढ बनाउने कुरामा पार्टीले जोड दिएको छ । जनताको सम्प्रभुताको विरुद्धमा हुने कुनै पनि गतिविधिहरू नेकपा (एमाले)लाई स्वीकार्य छैन । गणतन्त्र जनताको सार्वभौम शासन व्यवस्था हो । त्यसलाई जनताको अधिकारको रूपमा स्थापित गर्ने काम भएको छ । त्यसलाई अझै सबल र सुदृढ बनाउने कुरामा अगाडी बढ्ने पार्टीको निष्कर्ष छ । गणतन्त्रलाई उत्सवको रूपमा देशव्यापी रूपमा आयोजना गर्न हार्दिक आह्वान गर्दछु ।”
उहाँले जनताको अधिकारको रक्षा, उपलब्धिहरूको संरक्षण र गणतन्त्र स्थापनालाई जनताको उत्सवको रूपमा मनाउने विषयमा आफूहरूको ध्यान केन्द्रित रहेको बताउनु भयो ।









