पाटन ।ललितपुर महानगरपाकिलाका प्रमुख चिरिबाबु महर्जनले काम गर्नका लागि नेपालमा धेरै अफ्ठ्यारो रहेको बताउनुभएको छ ।
आईतवार महानगरपालिकामा आयोजित विपद् स्वयंसेवक परिचालन आधारभुत तालिम कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो गुनासो गर्नुभएको हो । उहाँले कुनैपनि काम गर्दा ऐन, कानूनमा ह्रस्व, दीर्घ मिलेन भने रातो घरमा उभिनुपर्ने अवस्था रहेको बताउनु भयो ।
उहाँले २०७८ सालको असारको पहिलो हप्तामा धापाखेलमा धेरै बिगार हुनेगरी बाढी गएको र त्यहाँको अवस्थालाई हेरेर तत्कालै २२—२३ लाख रुपैयाँ सहयोग गरेकाले अहिले पनि आफू अख्तियारमा बयानका लागि धाइरहेको बताउनु भयो । राष्ट्रिय विपद् आइपर्दा पनि छिटो भन्दा छिटो सहयोग गर्न पनि हिच्किचाउनुपर्ने विडम्वनापूर्ण अवस्गा रहेको बताउनु भयो । नियत सफा भएको खण्डमा कसैले केही पनि गर्न नसक्ने बताउनु भयो । राम्रा काम गर्नेहरुमाथि नियमनकारी निकायले छड्के नजरले हेर्न नहुने बताउनु भयो ।
प्रमुख महर्जनले भन्नुभयो, ‘यो मुलुकमा काम गर्न साह्रै अफ्ठ्यारो, साह्रै गाह्रो छ । कुनैपनि काम गर्दा ऐन, कानूनमा ह्रस्व, दीर्घ मिलेन भने रातो घरमा उभिन जानुपर्छ । यहाँको खतरापूर्ण कुरा यो छ । मैले २०७८ सालको असारको पहिलो हप्तामा धापाखेलमा धेरै बिगार हुनेगरी बाढी, पहिरो आयो । यसको मैले निरीक्षण गरेँ । निरीक्षणका क्रममा त्यहाँको मानिसहरुमा एक किसिमको रोई कराइ भयो । देखेँ । त्यसपछि म पनि धेरै दुःखी भएर फर्किएँ । महानगरको मेयरसम्म भएको अधिकार बमोजिम मैले उहाँहरुलाई तत्कालै २२—२३ लाख रुपैयाँ सहयोग गरेँ । तर त्यो सहयोग गरेको कुरामा मलाई अहिले पनि अख्तियारमा बयान दिनुपर्छ । अझै टुंगिसकेको छैन । यि र यस्तै कुराले गर्दाखेरि पनि यस्तो किसिमको राष्ट्रिय विपद् आइपर्दा पनि हामीले छिटो भन्दा छिटो सहयोग गर्न पनि हिच्किचाउनुपर्ने कस्तो विडम्वना यो । यसलाई कसरी समाधान गर्ने ? त्यसमा सोच्नुपर्छ ।’
प्रमुख महर्जनले आफूले बोलेकामध्ये ढुङ्गेधारामा पानी ल्याउन नसक्नु बाहेक अरु काम पूरुा गरेको जिकिर गर्नुभयो ।










