काठमाडाैंः राष्ट्रिय मानव अधिकार आयोगले आयोगका सदस्य मोहना अन्सारीलाई भ्रम सिर्जना हुने गरी नबोल्न सचेत गराएको छ । आयोगका अध्यक्ष अनुपराज शर्माले जारी गर्नुभएकाे विज्ञप्तिमा २०७७ असार २३ गते ट्वीटरमा अन्सारीले समाजवादी पार्टीले आफ्ना संसद सदस्य सरिता गिरीमाथि आफ्नाे विधान र राजनीतिक दलसम्बन्धी ऐनबमोजिम कारबाही गर्ने विषयमा सो कारबाहीलाई खेदजनक छ भनी सार्वजनिक सञ्जालमा व्यक्त गरिएका कुराहरूप्रति आयोगको ध्यानाकर्षण भएको जनाएको छ ।
संविधान, कानून र दलको विधानले दिएको अधिकार प्रयोग गरी सरिता गिरीमाथि गर्न लागेको कारबाहीलाई “खेद्जनक” तथा “कथित् छानविन प्रतिवेदन” भनी दलको अधिकारलाई निस्तेज पार्नेगरी सामाजिक सञ्जालमा व्यक्त गर्नुभएको भनाइलाई आयोगले अस्वीकार समेत गरेको छ ।
आयोगबाट यही असार १५ गते बाट सदस्यहरूलाई भ्रम सिर्जना हुनेगरी नबोल्न सचेत गराउदा गराउदै पनि यस किसिमको भनाइ ट्वीटरमा आउनु खेद्जनक भएको भन्दै यसमा कोहीपनि भ्रममा नपर्न जानकारी गराएको छ ।