काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजसंस्था पुनर्स्थापना लागि हुने लागेको संयुक्त जनआन्दोलनमा संलग्न नहुने बताएको छ ।
पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले उक्त आन्दोलनपछि रास्वपाको नैतिक समर्थन वा ऐक्यवद्धता पनि नरहने स्पष्ट पारेका हुन् ।
संयुक्त जनआन्दोलन समितिका तर्फबाट संयोजक नवराज सुवेदीले हिजो(मंगलबार) रास्वपालाई १५ जेठबाट हुने आन्दोलमा सहभागीता र सहकार्यको प्रस्ताव गर्दै रास्वपालाई पत्राचार गरेका थिए ।
कार्यवाहक सभापति डीपी अर्याललाई सम्बोधन गर्दै लेखेको पत्र रास्वपा कार्यालयमा पुगेको थियो ।
अर्यालले आफूलाई राप्रपाका एकजना केन्द्रीय सदस्यको फोन आएको बताए । ‘नवराज सुवेदीले फोन गर्नुभएको होइन । राप्रपाको एक केन्द्रीय सदस्यले फोन गरेर एउटा पत्र दिनु छ भन्नुभयो । मैले पार्टी कार्यालय छोड्न भनेको थिएँ । पत्र मैले पाइसकेको छु । तर, उहाँहरुले गर्ने भनेको आन्दोलनमा हाम्रो कुनै पनि संलग्नता र सहकार्य हुँदैन’, अर्यालले न्युजपोलारसँग भने ।
साथै। रास्वपाभित्र अहिले राजसंस्थाको बहस नै नरहेको अर्यालको भनाई छ । ‘पार्टीमा यस विषयमा कुनै पनि इस्यू नै छैन । कोही अमुक नेताले चाहेर हुने कुरा पनि होइन । पार्टीमा बहस, छलफल हुनुपर्छ । त्यस्तो केही भएकै छैन’, अर्यालले भने ।
पार्टीमा अनेक किसिमका पत्रहरु आउने भन्दै सबैलाई जवाफ दिइराख्नुपर्छ भन्ने नरहेको प्रस्ट पार्दै पत्रको जवाफ नदिने अर्यालले बताए ।










