५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

गभर्नरमा अड्किएको भनिएको सत्ताको संकट अब टरेको हो ?



अ+ अ-

काठमाडौँ: हिजोका मिडियाका समाचारले भनेजस्तो भएको भए यतिबेला नयाँ सरकार बनिसकेको हुन्थ्यो । हिजो साँझका लागि बोलाइएको मन्त्रिपरिषदको बैठक नबसेपछिका समाचारहरु यही लाइनमा आएका थिए ।

साँझका अनलाइनदेखि  बिहानका अखबारका शीर्षक थिए‐ गभर्नरका कारण सत्तामा संकट, गभर्नरमा दुवैको दाबीपछि ओली देउवा बस्न मानेनन्, ओलीले विश्व पौडेलेको योग्यता नपुगेको भनेपछि गभर्नर नियुक्त हुन सकेन आदि आदि ।

तर वास्तविकता भने त्यस्तो थिएन, समाचारमात्र थियो । पछिल्लो समय वास्तविकता र समाचारमा फरक हुने गरेको गुनासो बालुवाटार र बुढानीलकण्ठको छ । जस्तो कि हिजोको मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री विरामी भएर हुन नसकेको र आफू आराम गर्ने भनेपछि बालुवाटार देउवा नगएको वास्तविकताको ठिक उल्टो गरी समाचार आएको बालुवाटारको भनाई छ ।

यसै विषयलाई गभर्नरमा कुरा नमिलेपछि मन्त्रिपरिषद बस्न नसकेको र अर्कातर्फ गभर्नरका विषयमा सल्लाह गर्न भनेर प्रधानमन्त्रीले बोलाएपछि एउटै विषयमा कति कुरा गर्ने भनेर कांग्रेस सभापति शेरबहादुर देउवा बालुवाटार नगएका भन्ने जस्ता समाचारका आज बुढानीलकण्ठ पूरै खण्डन गर्दछ ।

कांग्रेसकै एक समाचार स्रोतले भन्यो‐ केही बिग्रिएकै थिएन । किनभने विश्व पौडेललाई गभर्नर नियुक्त गर्ने सल्लाह प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाको मिलेपछि नै उनले सिफारिश समितिबाट राजीनामा दिएका थिए । तर पनि मिडियामा भने धेरै कुरा आए ।

प्रतिपक्षी माओवादीले त गभर्नरमा लफडा परेकाले वर्तमान सत्ता गठबन्धन भत्किनै लागेको भनेर आफ्नो पार्टी भित्र सञ्चार गरिरहेकै थियो । यतिसम्म कि आफ्नै कामले देउवा भेट्न पुगेका माओवादी नेता जनार्दन शर्माले पनि कांग्रेस माओवादीको सरकारका बारेमा कुराकानी गरेका भनेर समेत प्रचार गरिएको थियो ।

वर्तमान कांग्रेस एमालेको सत्ता भत्किने र माओवादीको प्रवेशसहित कांग्रेसको नेतृत्वमा सरकार बन्ने प्रचार हुन थालेको यो सरकार बनेकै हप्तादेखि हो । समय समयमा त्यो योजनाको भोल्युम बढ्छ र समयमा घट्दै गएर शिथिल पनि बन्छ । त्यस्तो अवस्था यसअघि पनि पटक पटक आएको हो जसरी गभर्नरको नियुक्ति हुन नसक्दा आएको थियो ।

संख्याका हिसाबले हेर्दा यो सरकारमाथि घुनपुत्लो लाग्ने आधार भेटिँदैन । तर सामाजिक सञ्जाल र अनलाइन मिडियाका समाचार चाहार्ने हो भने सरकारको आयु घन्टामा काउन्टडाउन गर्नुपर्ने जस्तो देखिन्छ । यी दुवैको बीचबाट ओली देउवाको सम्बन्धको मापन गर्ने हो भने उहाँहरु दुवै जना सरकारप्रति कन्फिीडेन्ट देखिनुहुन्छ । त्यसो भए भएको के त ?

भएको चाहिँ सरकार ढाल्नैपर्ने प्रमुख विपक्षी माओवादीका अध्यक्षको हतारो हो । उहाँले आफ्ना कार्यकर्तालाई इङ्गेज गराउनुपर्नेछ, त्यसका लागि यो सरकार आजै या भोलिसम्म ढल्छ भन्ने हो । यो प्रतिपक्षको धर्म पनि हो ।

जबजब सत्तामा अविश्वास बढ्न थालेजस्तो देखिन्छ अर्थात कुनै नियुक्ति आदिमा असमझ्दारी भएको कुरा बाहिर आउँछ त्यसपछि प्रतिपक्षी दलको धर्म निभाउने कामको सुरुवाता बडो जोडतोडका साथ हुन्छ । त्यही समाचारले देशभरी एकफेरो लागेपछि सामाजिक सञ्जाल पनि रनक्कै तात्न थाल्छ ।

आज गभर्नर नियुक्त भए डा विश्व पौडेल, कांग्रेसको कोटाबाट । धेरैजस्तो पछिल्लो समयको सत्ताका प्रमुख दुई दलको लफडा गभर्नरमा पुगेर अड्किएको देखिएको थियो । सत्तमा देखिने संकटको प्रमुख कारक पनि यही थियो । तर आज टुंगियो ।

अब केही समय यताका लागि त्यस्तो झगडाको बीउ केही देखिँदैन । बरु प्रमुख निर्वाचन आयुक्तसँगै अरु पनि केही संवैधानिक पदमा रिक्त भएको पदका लागि चर्चा सुरु हुन भने सक्दछ । त्यसयताका लागि अहिलेलाई सत्ता संकटको पछिल्लो किस्ता बन्द भएको छ । नयाँ नयाँ किस्ताहरुको हिसाब किताब तय हुँदै जानुपूर्व अहिलेका लागि प्रमुख दुई दलीय संकट टरेको देखिएको छ ।